विर्तामोड, पुष ५ । नेपाली सेनाले झापाको मेचीनगर नगरपालिका–१३ चारआली जंगलबाट एउटा भरुवा बन्दुक, खुकुरी र बारुद फेला पारेको छ ।

नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५०० मिटर दक्षिणतर्फको जंगलभित्र सोमबार बिहान पौने ८ बजे दुई जना व्यक्ति बसिरहेको देखेपछि नेपाली सेनाको गस्ती टोली त्यहाँ पुगेको थियो । सेनालाई देखेपछि ती व्यक्ति त्यहाँबाट भागेको र घटनास्थलबाट बारुद लोड गरिएको एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरिने दुई थान सिसाका डल्ला, एउटा खुकुरी, बारुद दुई पोका, सलाई र कम्मर पेटी बरामद गरिएको नयाँ श्रीनाथ गण प्रमुख सेनानी अमरजंग थापाले जानकारी दिए ।

‘सेनालाई देखेपछि बन्दुकसहितको सामान झाडीमा फालेर ती व्यक्तिहरू भाग्न सफल भयो,’ प्रमुख सेनानी थापाले भने, ‘जंगल क्षेत्रमै सेनाको ब्यारेक रहेको र बेला बेला ब्यारेकभित्रै बन्दुक पड्केको आवाज आउन थालेपछि सेनाले जंगलभित्र गस्ती बढाएको हो ।’ प्रमुख सेनानी थापाका अनुसार जंगलमा शिकार खेल्न हातहतियारसहित सिकारी आउने गरेको र भागेका व्यक्ति पनि सिकारी नै भएको उनले बताए । बरामद गरिएको बन्दुकसहितको सामग्रीहरू वन कर्मचारी र प्रहरीले मुचुल्का उठाएर लगिसकेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्