बिर्तामोड, पुष १६ । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले शुक्रबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।

संघको निर्वाचन समितिले संघकै सभाहलमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो समारोहमा कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सपथ ग्रहणसँगै पदभार सम्हालेका हुन् । अध्यक्ष मिलन बस्नेतको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघ प्रदेश नं १ का अध्यक्ष मोहनप्रसाद अधिकारी प्रमुख आतिथ्यमा आयोजित समारोहमा निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले पद तथा गोपनियताको सपथ गराएका थिए । पहिलो सत्रको कार्यक्रम ओम पौडेलले सञ्चालन गरेका थिए भने स्वागत प्रथम उपाध्यक्ष शरद खनालले गरेका थिए । कार्यक्रमका बीचमा अध्यक्ष बस्नेतले आफ्नो नेतृत्वको पुरानो कार्यसमितिका पदाधिकारी तथा सदस्य एवम् सल्लाहकारहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
दोस्रो सत्रको कार्यक्रमको अध्यक्षता पनि नवनिर्वाचित अध्यक्ष बस्नेतले नै गरेका थिए भने सञ्चालन नवनिर्वाचित महासचिव पुष्पराज निरौलाले गरेका थिए ।
पद हस्तान्तरणसँगै नवनिर्वाचित अध्यक्ष बस्नेतले आफ्ना भावी योजनासहित प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए भने प्रमुख अतिथि अधिकारी, निर्वाचन समिति संयोजक थापा, संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार गणेश बस्नेत, निर्वाचनमा अध्यक्ष पदमा पराजित गगनमणि रेग्मीलगायतले शुभकामना मन्तव्य राख्दै व्यवसायीको हकहितमा नयाँ कार्यसमितिले काम गर्ने बिश्वास व्यक्त गरे ।
गत मंसिर २२ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा पुनः मिलन बस्नेत निर्वाचित भएका थिए । उनको यो दोस्रो कार्यकाल हो । प्रथम उपाध्यक्षमा रमेश अधिकारी, द्वितीय उपाध्यक्षमा कुमार उप्रेती, तृतीय उपाध्यक्षमा कृष्णप्रसाद प्रसाईं, महासचिवमा पुष्पराज निरौला, सचिवमा योगेन्द्र खड्का, कोषाध्यक्षमा चन्द्र खत्री, सह कोषाध्यक्षमा सिताराम ढुंगेललगायत सदस्यमा १० जना निर्वाचित भएका थिए । केही पद सर्वसम्मत भएको थियो भने अधिकांश पदमा निर्वाचन भएको थियो ।