बिर्तामोड, पुष १८ । राजनीति गर्ने अरुले कमाउनसम्म कमाए तर, आदिवासी समुदायका एकजना संविधानसभा सदस्य जसले जीवनको उतरार्द्धमा अनेक दुखकष्ट झेल्दै उपचारको अभावमा आफ्नो प्राण त्याग्नु परेको छ ।

प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य शिवसतासी–४ निवासी जगतबहादुर ताजपुरियाले शनिबार राति १२ बजे ७८ बर्षको उमेरमा आफ्नै निवासमा त्यसरी देहत्याग गरेका हुन् ।
२००१ सालमा जन्मेका ताजपुरिया २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका थिए । २०१८ सालदेखि नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र आन्दोलनमा समेत सक्रिय भएका ताजपुरिया २०२५ सालमा पक्राउ परी १ बर्षसम्म कठोर यातनासहित जेल जीवनसमेत बिताएका थिए । राजकाजसम्बन्धी मुद्धामा जेल परेका उनले लामो समयसम्म तारेख धाउनुपरेको जानकारहरु बताउँछन् ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताउन बाध्य ताजपुरिया प्रजातन्त्रप्रति अडीग र निष्ठावान नेता भएको नेपाली कांग्रेसका पूर्व सचिव भक्ति सिटौलाले बताए ।
‘अरु पञ्चायतमा प्रवेश गर्दा पनि उहाँ कहिल्यै प्रवेश गर्नुभएन’–नेता सिटौलाले भने–‘नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र विद्रोह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनमा उहाँ सक्रिय रुपमा सहभागी हुनुहुन्थ्यो ।’
‘राजनीतिमा हिड्दाहिड्दै आफ्नो जायजेथा सम्पूर्ण सकियो’–ताजपुरियाको राजनीतिक इतिहास सम्झदै नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारीले भने–‘अहिले उहाँको परिवार ऐलानी जग्गामा बसेको छ । साँच्चै भन्ने हो काजकिरिया गर्ने खर्चसमेत अभाव छ।’ विगतमा उनको ४० बिगाह भन्दाबढी जग्गा भएको बताइन्छ । उनले जीवनको उत्तराद्र्धमा जनमजदुरी गरेर गुजारा गरिरहेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले ताजपुरियाको आर्थिक अबस्था अत्यन्त दयनीय अबस्था रहेको बताएका थिए । बुढाथोकीका अनुसार अरुको घरमा काम गरेर उनले गुजारा चलाएका थिए । खर्चकै अभावका कारण उनले औषधि उपचार गर्न नपाएको जनाइएको छ ।
नेपाली कांग्रेसको तत्कालीन ५ नं क्षेत्रको क्षेत्रीय सदस्यको जिम्मेवारी संहालेका उनी पदमा बसेर वा नबसी पनि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएको उनका काका नेपाली कांग्रेस झापाका सदस्य सुकदेव ताजपुरियाले बताए ।
२०६४ सालमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटामा उनी संविधानसभा सदस्य मनोनित भएका थिए ।
कुनै दीर्घ रोग एवं स्वास्थ्य समस्या नभएपनि उनको शनिबार राति अचानक निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती फुर्की ताजपुरिया, छोराहरु धर्मप्रसाद, प्रेमप्रसाद र कृष्णप्रसाद एवं छोरी सुशिला ताजपुरिया छन् । उनको वैदिक विधिपूर्वक आइतबार नै स्थानीय बनियानी खोलाघाटमा अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, सचिव नवीन विमली, सहसचिव कमल भण्डारी, ४ नं क्षेत्रीय सभापति जयनारायण शाहलगायतले पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
यसैबीच नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ताजपुरियाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै शोक समवेदना ब्यक्त गरेका छन् ।