बिर्तामोड , पुष १९ । सूर्याेदय नगरपालिकाले लोपोन्मुख लेप्चा जातिको नयाँ वर्ष अर्थात नामवन पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको १३३ औं कार्यपालिका बैठकले पुस १९ गते सोमबार स्थानीय बिदा दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको कार्यलय, वडा कार्यलय, नगरभित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरू आकस्मिक सेवाबाहेक बिदा रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत योगनिधि भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । लेप्चा समुदायले नामवन पर्वको उपलक्ष्यमा सोमबार फिक्कलमा विषेश कार्यक्रम गर्ने जनाइएको छ । सूर्योदय नगरपालिकामा लेप्चा समुदायको बाक्लो बसोबास छ । २०६८ सालको जनगणनाअनुसार नेपालमा लेप्चाको जनसंख्या ३ हजार ४४५ छ । यसमध्ये सूर्याेदय नगरपालिकामा मात्रै २ हजार २०० रहेको तथ्यांक छ । पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ सरेर अन्य जिल्लासम्म पनि गएका छन् । तथ्यांकअनुसार ३ हजार २६४ ग्रामीण र १८१ जना सहरी क्षेत्रमा बस्छन् ।