कुमरखोद, पुष २१ । झापा गाउँपालिका वडा नं. २ मा रहेको मारसाल कृषि सहकारी संस्थाले बुधबार आफ्नो छैठो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

मारसाल कृषि सहकारी संस्थाका अध्यक्ष रघु टुडुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए । सीता परियारले स्वागत मन्तव्य राखेको कार्यक्रममा संचालक सदस्य श्री हेमरमले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा एस.एन जेडीका अध्यक्ष सोमनाथ भट्टराई , वडाध्यक्षहरु राजकुमार यादव , नेत्रबहादुर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन मारसाल सहकारीका व्यवस्थापक राप्ती राजवंशीले गरेकी थिइन् ।

मारसाल कृषि सहकारी संस्था २०७२ सालमा स्थापना भएको थियो । मारसाल कृषि सहकारी संस्थाले झापा गाउँपालिकाको वडा १ र २ को अतिविपन्न वस्तीहरुमा पहिला समूहको रुपमा काम गर्दथ्यो । लुथरन विश्व फेडरेसन नेपाल नामक संस्थाले विपन्न गाउँमा गठन भएका समूहहरुलाई दिगो जीविकोपार्जनका लागि आर्थिक सहयोग र विभिन्न तालिमहरु दिदै आएको छ । समूहमा आएका विभिन्न समस्याहरुको वारेमा अध्ययन गरी समाधान गर्दै आएका छन् ।

लुथरन विश्व फेडरेसन नेपालले वडा न.ं १ र २ का समूहहरुलाई संगठित गरी बचत गर्ने वानीको विकासका लागि कृषि सहकारी संस्थामा रुपान्तरण गरी २०७२ साल फागुन ४ गते सहकारी डिभिजन कार्यालय भद्रपुरमा दर्ता गरिदिएको थियो । ११ वटा समूहका २५ जना प्रतिनिधिबाट रु २५ हजार संकलन गरिएको थियो भने प्रवेश शुल्क वापत १ हजार २ सय ७५ लिई मारसाल कृषि सहकारीको स्थापना भएको थियो । अहिले मारसाल कृषि सहकारी संस्थाअन्तर्गत १९ वटा समूह रहेका छन् । उक्त सहकारीको आफ्नो शेयर पँुजी ७ लाख रहे पनि विभिन्न दातृ निकायबाट अनुदान पाएपछि अहिले मारसालको कुल सम्पति ६५ लाखको रहेको छ । मारसाल कृषि सहकारीले आर्थिक वर्ष २०७७–०७८ मा सम्पूर्ण खर्च कटाएर ३ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्