बनियानी , पुष २९ । साताको सोमबार र शुक्रबार लाग्ने बनियानी हटियामा कुमरसिंह राजवंशीको चिया खान पारखीहरु झुम्मिन्छन् ।

अस्थायी रुपमा चिया बेच्दै आएका राजवंशीको पसलमा बस्ने राम्रो ठाउँ छैन तर पनि चिया खानेहरुको भीड लाग्छ । किनकि उनले १० रुपैयाँमा मीठो चिया खुवाउँछन् । उनको चियाको स्वाद नै अलग छ । भाडोमा पकाएको रातो चियामा डढेको दुध फिटेर उनी दुध चिया तयार गर्छन् । जसको फरक स्वाद लिन ग्राहक आउँछन् ।
वर्षौदेखि बनियानीमा हटियाका दिन मात्र पसल थाप्ने ५८ वर्षिय राजवंशीको पसल गराइ पुरानो शैलीको छ । उनी दाउराले टीनको चुल्होमा चिया पकाउँछन् । बीस वर्षअघिको व्यवसाय उनी अहिले पनि गरिरहेका छन् तर, व्यापारमा कुनै कमी आएको छैन । उनले दुध चियाको मूल्य १० रुपैयाँ तोकेको धेरै भएको छैन । करीब तीन वर्षअघि उनी ५ रुपैयाँमा चिया बेच्थे । बालुबारी घर भएका पुराना चिया पसले राजवंशीलाई आफूले २५ पैसा प्रतिकप चिया बेचेको अझै स्मरण छ । ‘मैले शुरुमा २५ पैसामा चिया बेचेँ’ विगत संझिदै उनी भन्छन् ,‘ त्यसपछि ३० पैसा , ५० पैसा , १ रुपैयाँ , डेढ रुपैयाँ , २ रुपैयाँ ,३ रुपैयाँ , ४ रुपैयाँ हुँदै ५ रुपैयाँमा चिया बेचँे । ’ अहिले १० रुपैयाँमा चिया बिक्री गर्छन् ।
अरुतिर चिया १५–२० रुपैयाँ कप छ । उनले कसरी १० रुपैयाँमा मीठो खुवाउँछन् त ?उनी भन्छन् ,‘मलाई धेरै नाफा कमाउनु छैन, हटियाको दिन ६–७ सय नाफा भए पुग्छ ।’
सस्तो र स्वादिलो पाउने भएपछि उनको चिया धेरै खपत हुने गरेको छ । उनी हटियाको दिन १५ लिटर दुधको चिया बिक्री गर्छन् । चिया बेच्न राजवंशी र उनकी श्रीमती दुवै खटिन्छन् ।
चिया पसलसंगै खेतीपाति गरेर आफूहरुले गुजारा गरिरहेको राजवंशी बताउँछन् ।‘अलिकति घरभिटा छ, व्याजमराउनी खेती लिएका छौं ’उनले भने,‘ त्यसैबाट चारजनाको परिवार चलाएका छौं ।’ दशकौंदेखि चिया पसल चलाएका राजवंशी चियाको लागि प्रख्यात छन् । आफूलाई सबैले चिया पसलेको रुपमा चिन्ने गरेको उनी बताउँछन् ।