झापा , पुष २९ । पछिल्लो चौबीस घण्टामा झापामा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
मेची , कोटीहोम ल्याबमा ९४ जनालाई परीक्षण गर्दा २७ जनालाई पुष्टि भएको छ । त्यस्तै बाहिरको ल्याबबाट ४ र एन्टिजेनबाट ६ जनालाई संक्रमण देखिएको छ । योसहित झापामा ६१ महिला र ८३ पुरुष गरी सक्रिय संक्रमितको संख्या १४४ पुगेको छ । त्यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमण भएको छ ।
५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, उदयपुरमा २, धनकुटा, संखुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा ११४, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे, बुढीगंगा र कटहरीमा २–२, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनबर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा १–१, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा ३, दुहबी र देवानगञ्जमा २–२, उदयपुरको त्रियुगा र कटारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, संखुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण भएको हो । प्रदेश १ मा बिहीबार ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ८३८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण
झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा एक हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कोरोनाको नयाँ भेरियन्ट फैलन थालेपछि होल्डिङ सेन्टरको निर्माण द्रुत गतिमा अगाडि बढेको हो । होल्डिङ सेन्टरमा खटिएका प्राविधिकका अनुसार ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
मेचीनगरको दुवागढीस्थित हडिया खोलाको बगरमा चार बिगाह क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा एक हजार जनालाई अटाउन सकिन्छ । २२ वटा छुट्टाछुट्टै आरसिसी भवनका हरेक कोठा एट्याच बाथरुमसहितका निर्माण भएका छन् । मेचीनगर–१४ का अध्यक्ष शंकरप्रसाद पोखरेलका अनुसार १४ वटामा क्वारेन्टिन हलमध्ये दुई वटा मेडिकल अधिकृत र स्वास्थ्यकर्मीले आवासको रूपमा प्रयोग गर्नेछन् । २५ करोड रुपैयाँको लागत रहेको होल्डिङ सेन्टर गएको असार ३ गते मात्रै हनुमान कन्स्ट्रक्सन ललितपुरले निर्माण ठेक्का पाएको थियो । होल्डिङ सेन्टर बनेको जग्गा पनि नगरपालिकाको स्वामित्वमा रहेको छ । काँकडभिट्टा नाका आसपासमा जमिन नपाइएपछि हडिया खोला बगरमा बनाइएको मेचीनगर नगरपालिकाको सूचना शाखाले जनाएको छ ।
काँकडभिट्टाबाट १७ किलोमिटरको दुरीमा रहेको होल्डिङ सेन्टर पुग्न धाइजन हुँदै भित्री सडकबाट मानव बस्ती जानुपर्छ । त्यसपछि हडिया खोलाको बगरमै होल्डिङ सेन्टर निर्माण भएको छ । सेनाले नै निर्माणाधीन होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ ।