बिर्तामोड , माघ १ । नेपालका मगर समुदायले माघे संक्रान्ति पर्व विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

यसक्रममा संक्रान्ति पर्वको अवसर पारेर नेपाल मगर संघ बिर्तामोड नगर कमिटीले बिर्तामोड ९ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मगर संघ बिर्तामोड नगर कमिटीका अध्यक्ष रणबहादुर मगरको अध्यक्षता तथा प्रदेश १ का सचिव शिरन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिका ९ की वडाध्यक्ष पबित्रा पाठकलगायतको उपस्थिति रहेको थियो ।

आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको रूपमा मनाउने गरेका छन् । मगरहरूको आफ्नै भाषा, संस्कृति, संस्कार र इतिहास भएको र भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरेको अध्यक्ष रणबहादुर मगरले जानकारी दिए । उनले मगरहरू प्रकृतिपूजक रहेको र माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरेको जानकारी दिए ।

बिभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ बिर्तामोड नगर कमिटीका उपाध्यक्ष कर्ण मगरले गरेका थिए ।
मगर समुदायले महान चाड माघे संक्रान्ति ( मिना–ल्हेस ५०१५) हल्दीबारीमा पनि मनाएका छन् । सोही अवसरमा नेपाल मगर संघ हल्दीबारी वडा नं. १ वडा समितिको पाँचौं अधिवेशन पनि सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्