भद्रपुर, माघ ५ । भर्खरै सशस्त्र प्रहरी बल २ नंम्वर गणको नेतृत्व सम्हाल्न झापा आइपुगेका सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीले संगठनको जिम्मेवारी इमान्दार भएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो कार्यकक्षमा झापाका पत्रकारसित भेटघाट गर्दै उपरीक्षक कार्कीले गणमा रहँदा सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण गर्दै व्यवस्थित रूपमा संगठन सञ्चालन गर्ने बताएका हुन् ।
उनले खुला सिमाना रहेको झापामा व्यवस्थित बनाउन चोरी, तस्करी, लागूऔषध कारोवारजस्ता अपराध नियन्त्रणमा ध्यान केन्द्रित गरी जनमैत्री वातावरणका लागि काम गर्ने प्रष्ट पार्दै तेस्रो लहरको कोभिड १९ संक्रमण नियन्त्रणका लागि संगठनले पाएको सीमा व्यवस्थापनलगायत स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने बताए ।
कार्कीले निर्माणका चरणमा रहेका वलका ६ वटा बीओपी भवन पूरा गर्दै झापाको भारतसित रहेको १४४ किमी खुला सिमाना व्यवस्थापनमा समेत ध्यान केन्द्रित गर्ने बताए ।
सशस्त्र प्रहरी वल २ नम्वर हेडक्वाटर झापाको नेतृत्व सम्हाल्न कार्की वलको कैलाली शिक्षालयबाट सरूवा भएर आएका हुन् । ।