सुरुङ्गा , माघ ७ । कनकाई नगरपालिकाले माघ १४ गते शुक्रवारसम्मका लागि सेवा बन्द गरेको छ ।

कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुलाई कोरोना संक्रमण भएपछि अत्यावश्यक सेवाबाहेकका सबै काम एक साताका लागि पूर्णरुपमा बन्द गरिएको शाखा अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए ।


कनकाई नगरपालिकाले सूचना जारी गर्दै कोभिड महामारीले नगरभित्र समस्या उत्पन्न गरेको जनाएको छ । सूचना अनुसार कर्मचारी र जनप्रतिनिधि समेतलाई कोभिड भएका कारण नगरस्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिको आज सम्पन्न बैठकले नगरको सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कनकाई नगरपालिकाका ८ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । त्यस्तै नगर प्रमुख राजेन्द्र पोखरेल , ८ नं वडाध्यक्ष प्रेमकुमार कट्वालसहित तीनजना जनप्रतिनिधि संक्रमित भएको फोकल पर्सन नारायण अधिकारीले बताए । कोरोनाको तेस्रो लहर शुरु भएयता कनकाई नगरपालिकामा ६० भन्दा बढी संक्रमित भएको उनले जानकारी दिए । त्यसमध्ये ५० बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्