झापा , माघ ८ । तेस्रो लहरमा ओमिक्रोन भाइरस तीब्ररुपमा फैलिएसंगै झापाका अस्पतालमा संक्रमितहरु भरिन थालेका छन् ।

दुई महिनाअघि कोरोनाका कुनै पनि विरामी नरहेका जिल्लाका अस्पतालहरुमा अहिले लगातार संक्रमितहरु उपचारका लागि भर्ना हुन थालेका हुन् । कोरोना संक्रमितहरुको लागि छुट्टै बेडसहितको उपचारको सुविधा उपलव्ध गराएका बिर्तामोडका बिएण्डसी र बिर्तासिटी हस्पिटलमा केही दिनदेखि उपचारका लागि आउने संक्रमितहरु बढ्दै गएको ती अस्पतालहरुले जनाएका छन् ।
बिर्तासिटी हस्पिटलमा दोस्रो लहरको अन्तिम संक्रमित गत मंसिर १० गते रहेका थिए । त्यसपछि अस्पतालमा कोरोनाका कुनै पनि बिरामी थिएनन् । शनिबारसम्म बिर्तासिटी हस्पिटलमा २० जना कोरोना संक्रमित भर्ना भइसकेको अस्पतालका प्रशासक विनोद बस्नेतले बताए । ‘कोरोनाका विरामीहरु आउने क्रम निरन्तर चलिरहेको छ ’ उनले भने ,‘ यही क्रममा फागुनसम्म ७० बेड भरिन्छ होला ।’ बिर्तासिटी हस्पिटलमा शुक्रबार मात्र एकजना कोरोना संक्रमितको मृत्यु भएको थियो भने अर्का संक्रमितको चिन्ताजनक अबस्थामा भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रशासक बस्नेतले संक्रमण बढेसंगै कोरोना संक्रमितहरुका लागि आफ्नो अस्पतालले तयारी गरिरहेको जानकारी दिए । ‘हामीले बेड , अक्सिजनलगायतका सबै थोकको तयारी गरिसकेका छौं’ उनले भने , ‘दोस्रो लहरजस्तै सेवा दिन हामी तत्पर छौं ।’ दोस्रो लहरमा बिर्तासिटी हस्पिटलले कोरोना संक्रमितका लागि सय बेडको व्यवस्था गरेको थियो ।

त्यस्तै बिर्तामोडको बिएण्डसी हस्पिटलमा पनि ८ जना संक्रमित भर्ना भएका छन् । त्यहाँ गत साता एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । माघ ५ गतेदेखि लगातार कोरोना संक्रमितहरु भर्ना भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । संक्रमण बढ्दै जाँदा बिएण्डसीले संक्रमितहरुको उपचारका लागि सबै व्यवस्था मिलाएको उनले जानकारी दिए । सो अस्पतालले यसअघि संक्रमितहरुको लागि २ सय बेडको व्यवस्था गरेको थियो । देशका अन्य अस्पतालहरुमा बेड खाली नहुँदा काठमाण्डौसम्मका विरामीहरु त्यस अस्पतालमा उपचारका लागि आएका थिए । ‘ अस्पतालको सुविधा , विज्ञ जनशक्तिको सेवालगायत कोरोना संक्रमितका लागि सबै व्यवस्था मिलाएका छौं ’ उनले भने ,‘सहज उपचार हुन्छ , कोही पनि फर्किएर जानु पर्दैन ।’
स्वास्थ्य कार्यालय झापाका अनुसार शनिबारसम्म झापामा १२१६ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये २२ जना अस्पतालमा भर्ना भएका छन् भने अन्य होम आइसोलेसनमा रहेका छन् । तीब्र रुपमा फैलिदै गएको तेस्रो लहरको कोरोना संक्रमणबाट झापामा तीनजनाको मृत्यु भइसकेको छ ।