झापा , माघ ९ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउने सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान सञ्चालन गरेको हो । बजार क्षेत्रमा मास्क बिना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारवाही गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार बजार क्षेत्रमा सचेतनालाई अटेर गरी हिंड्ने एक सय ३० जनालाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि १४ माघसम्म अत्यावश्यक बाहेकका काम स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । जिल्लाको लालीगुराँस नगरपालिकामा पनि कर्मचारीहरूमा संक्रमण देखिएपछि यही १३ माघसम्म अत्यावश्यक बाहेकका काम बन्द गरेको जनाएको छ ।