भद्रपुर, माघ १० । कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा बढिरहेका बेला विरामीलाई सेवा दिन मेची अस्पताल भद्रपुरमा थप अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौँले मेची अस्पतालमा प्रतिदिन ११० सिलिन्डर उत्पादन गर्नेगरी अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।

चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाललगायतको उपस्थितिमा कांग्रेस नेता सिटौलाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।
चिकित्सक संघको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची अस्पतालका लागि अक्सिजन प्लान्ट सहयोग गरेको संघका केन्द्रीय अध्यक्ष डा. कार्कीले जानकारी दिए । चुजी फाउन्डेसन ताइवानले मेचीसहित भोजपुर, पर्वत र कोशी अस्पताललाई अक्सिजन प्लान्ट दिएको उनले बताए । मेचीमा जडित अक्सिजन प्लान्टबाट एकैसाथ धेरै सिलिन्डर उत्पादन गर्नका लागि बुस्टर जडान आवश्यक रहेको समेत जनाए ।

मेची अस्पतालमा आउने विरामीले अक्सिजन अभावमा मर्नुपर्ने बाध्यता अन्त्य गर्न आफू लागिपरेको नेता सिटोैलाले बताए । उनले बुस्टर जडानका लागि प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । त्यसका लागि आफूले पनि पहल गर्ने उनको भनाइ छ ।
मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटीले अक्सिजन प्लान्टको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्