कुमरखोद, माघ १४ । झापा गाउँपालिकामा टोल समिति गठन गर्न नेपाली काँग्रेस र एमालेबीच होडबाजी चलेको छ ।

स्थानीय चुनाव नजिकिदै जाँदा नेपाली काँग्रेस र एमालेको गाउँ कमिटीले प्रत्येक वडाको टोलटोलमा गएर टोल समिति गठनलाई तिव्रता दिएका हुन् ।

झापा गाउँपालिकाको ७ वटा वडामध्ये काँग्रेसले स्थानीय चुनावमा २ वटा वडामा वडाध्यक्ष जितेको थियो भने एमालेले ४ वटा वडामा र एउटा स्वतन्त्र उम्मेदवारले वडा अध्यक्ष जितेका थिए । झापा गाउँपालिकालाई काँग्रेसमय बनाउन अहिले केन्द्र , जिल्ला र क्षेत्रीय स्तरका नेता कार्यकर्ताहरु टोल समिति बनाउन व्यस्त देखिएका छन् । टोल समिति गठन गर्नेक्रममा काँग्रेसले वडा नं. २ मा ९ वटा टोल समिति गठन गरेको छ । काँग्रेसको टोल समितिहरुमा हवलदार बस्तीको सभापतिमा जसोदा पोख्रेल , सुँगावथानका ताला हेमरम , कामात बस्तीका मंगलसिंह राजवशी , हाटखोलाका सुरेश कामती , कुवाडीका कुमार विष्ट, सडकवाडी पश्चिम टोलका तुलसी राजवंशी , सडकवाडी पूर्व टोलका श्री हेमरम, झापा बजारका मनोजकुमार गणेश र बालुवाटारका केशबबहादुर कोइराला रहेका छन् भने शनिवार वडा नं. २ मै अर्को टोल समिति गठन हुने वडा सचिव टेकबहादुर कार्कीले बताए । त्यसैगरी नेकपा एमालेले वडा नं. २ मा ४ वटा टोल समिति गठन गरेको छ । बालुवाटार टोल समितिको अध्यक्षमा डिल्लीराम हेमरम , सडकवाडीका जितबहादुर थेवे , कामात बस्तीका गोपाल चौधरी र कुवाडीका मोहन दर्नाल रहेको झापा गाउँपालिका गाउँ कमिटी अध्यक्ष गजेन्द्र ताम्लीले बताए । एमालेको वर्चस्व रहेको वडा नं. २ को बालुवाटारमा शुक्रबार वडा समिति गठन गरी काँग्रेसले सिंगो गाउँलाई काँग्रेसमय बनाएको छ । बालुवाटारमा केशबबहादुर कोईरालाको नेतृत्वमा २७ जनाको टोल समिति गठन भएको हो । जसको उपसभापतिमा छोट्का हेमरम , सचिवमा विमला थेवे लिम्वु , सह–सचिव विष्णुकुमारी घोर्षाने र कोषाध्यक्षमा श्याम विष्ट रहेका छन् ।त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी ७१ जना काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय सभापति जयनारायण शाहले स्वागत गरेका थिए । नेपाली काँग्रेस वडा नं २ का सभापति द्धारिका खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजकुमार कोचले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्