गौरादह, माघ १७ । गौरादह जेसीज बर्ष २०२२ को नेतृत्व विनिता कटुवालले सम्हालेकी छन् ।

सर्वसम्मत रुपमा नेतृत्व चयन भएको गौरादह जेसीजको शनिबार भएको नवौं पद हस्तान्तरणसंगै उनले जेसीजको बिधानअनुसार एकबर्षे कार्यकालको लागि सो पद सम्हालेकी हुन् । उनी गौरादह जेसीजको अध्यक्षमा चुनिने पहिलो महिला हुन् । कटुवाललाई गौरादह नगर प्रमुख रोहितकुमार साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गौरादह जेसीजका निवर्तमान अध्यक्ष एकराज घिमिरेले पद हस्तान्तरण गरेका थिए ।
कार्यकारिणी उपाध्यक्षद्वयमा दुर्लभ कार्की र दिपेश पोखरेल, उपाध्यक्षहरुमा साजन चुँडाल, एकता पोखरेल,सुमन खत्री र निशान अधिकारी र जनसम्पर्क अधिकारीमा बिक्रम तिवारी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष विनिताले सल्लाहकारमा सञ्जिवबहादुर कार्की, महासचिवमा जेसी खड्गबहादुर थापा, कानुनी सल्लाहकारमा युवराज बाँस्तोला, कोषाध्यक्षमा भानु आचार्य र सचिवमा सरिता कार्कीलाई मनोनित गरेकी छिन् । नवौं साधारणसभाबाट निर्वाचित तथा मनोनित गरी सम्पूर्ण पदाधिकारीहरुको कार्यसमितिले पूर्णता पाएपछि शनिबार पदभार तथा सपथ ग्रहण तथा सन २०२१ का विभिन्न बिधामा उत्कृष्टहरुलाई पुरस्कार वितरण गरिएको थियो ।