उर्लाबारी , माघ १९ । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी मंगलबारेको मुल गेटमै अवस्थित छ, सेवा मेडिकल हल । अत्यन्तै साँघुरो घुम्तिमा फार्मेसी रहनु मापदण्डविपरीत त छँदैछ, पसल रहेको भूमि पनि अर्कैको हड्पिएर एकजना जनप्रतिनिधिले फार्मेसी सञ्चालन गरिरहेको पाइएको छ ।

उर्लाबारी– ३ का वडा सदस्य सोमप्रसाद तिमिल्सिना ‘राम’ले स्थानीय बालादेवी गौतमको घडेरी बलजफ्ती कब्जामा लिएर फार्मेसी चलाइरहेका हुन् । बालादेवीका देवर चन्द्रप्रसाद गौतमका अनुसार २०७४ सालमा घुम्ती निर्माण गरी केही समय आफैले फार्मेसी चलाएको उल्लेख गर्दै पछि मासिक तीन हजार बुझाउने सर्तमा एकजना आफन्तलाई पसल जिम्मा दिइएको थियो । आँखा र पित्त थैलीमा समस्या भएपछि उपचारार्थ लामो समय आफू काठमाडौ रहँदा कुनै बेला आफ्नै पसलका कामदार तिम्सिनाले अनेक षड्यन्त्र गरेर करिब दुई धुर जग्गासहितको घुम्ति हड्पेको गौतमको आरोप छ । ‘बञ्जारा थरका नातेदारलाई पसल चलाउन दिएको थिएँ’ गौतमले भने – ‘उनले राम्रोसँग चलाउन नसकेपछि तिम्सिनालाई मासिक दुई हजार तिर्ने सर्तमा फार्मेसी दिएका थियौ । तर, उनले पेलेरै जबर्जस्ती गरे ।’ पछि आफ्नो घुम्ति पसल फालेर फरक संरचना बनाई तिम्सिनाले मेडिकल हल तयार पारेको पनि गौतमले दावी गरे । पूर्व–पश्चिम राजमार्गको १०५ भित्र पक्की संरचना बनाउन नपाइने नियम भएकोले आफूले न्यायको लडाइँ लड्दा त्यो भोगाधिकार नपाइने हो कि भन्ने लागेको गौतम बताउँछन् । ‘जमिन त मेरै परिवारको नम्बरी हो, तर सहमतिमा आएर तिम्सिनाले कि बहाल तिर्नु पर्यो, कि हट्नु पर्यो ’ उनले भने । अरुको संरचना भत्काई जबर्जस्ती जमिन हड्पिने तिम्सिनाको पसल हटाउन पहल गरिदिनपनि उनले सबैमा आग्रह गरेका छन् । यस विषयमा बुझ्न खोज्दा तिम्सिनासंग सम्पर्क हुन सकेन ।
पूर्वी मोरङकै ठूलो स्वास्थ्य संस्था मदन भण्डारी अस्पतालमा चरम बेथिति देखिएको छ । अस्पतालको मुलगेटमै साँघुरो जमिनमा फार्मेसी चलाएका तिम्सिनाको अस्पतालमा हालिमुहाली छ । नेपाल सरकारबाट नागरिकले निःशुल्क पाउने औषधिहरु अस्पतालको फार्मेसीमा विरलै पाइन्छन् तर तिम्सिनाको फार्मेसीमा सहजै खरिद गर्न पाइन्छ । यसो हुनुका पछाडि अस्पतालका संचालक र कर्मचारीको तिम्सिनासंग ‘सेटिङ’ भएको नाम नबताउने सर्तमा एक स्वास्थ्यकर्मीले बताए । उनका अनुसार अस्पतालको फार्मेसीमा कृत्रिम अभाव सृजना गरिदिएपछि सेवाग्राही दबाई किन्न मुलगेटमै रहेको सेवा मेडिकल हलमै पुग्ने हुन् । जुन तिम्सिनाले बालादेवी गौतमबाट हड्पिएका हुन् ।
नगरपालिकाको वडा सदस्य भएको फाइदा उठाउँदै तिम्सिनाले अस्पतालका हरेक गतिविधिमा आफूलाई समाहित गराउँदै आएको पनि बुझिएको छ । अस्पताल प्रशासनसंगको मिलिभगतमा उनले दुई÷दुई वटा फार्मेसी चलाएका छन् । सेवा मेडिकल र नतुल फार्मेसी चलाएका उनले अरु औषधि व्यवसायीलाई टिक्न र गरिखान नदिन अनेक षड्यन्त्र गरिरहने भुक्तभोगीहरु बताउँछन् । उनकै कारण दुई जनाले फार्मेसी पसल नै बन्द गरेको पाइएको छ ।(ब्रेकएनलिंक्स डट कमबाट)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्