बिर्तामोड, माघ २१ । पत्रकारिताको बद्नामसंगै पत्रकारहरुलाई सार्वजनिक रुपमा धम्की दिने बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई त्यस्तो हर्कत नगर्न पत्रकार महासंघले सचेत गराएको छ ।
बिएण्डसी अस्पतालका बारेमा एक संचारमाध्यममा आएको समाचारको खण्डन गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईले पत्रकारहरुको विरुद्धमा तथानाम बोलेका थिए । सोही बिषयलाई लिएर पत्रकार महासंघ झापा शाखाले एक विज्ञप्ति जारी गरी प्रेस स्वतन्त्रता विरोधी त्यस्ता हर्कत नदोहो¥याउन प्रसाईलाई सचेत गराएको हो । सचिव डिकेश लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ प्रकाशित – प्रसारित समाचारप्रति चित्त नबुझे त्यस विषयमा सम्बन्धित संचारमाध्यममा खण्डन प्रकाशन–प्रसारण गर्ने,सम्बन्धित संचारमाध्यममा उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानूनी हक हुँदाहुँदै समग्र पत्रकारिता क्षेत्रको बद्नाम हुनेगरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति र पत्रकारहरुलाई सार्वजनिक रुपमा धम्क्याएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषी उपर कार्वाहीको लागि जोडदार माग गर्दछौं ।’
साथै विज्ञप्तिमा कुनै पनि संचारमाध्यममा आएको समाचारको विषयलाई लिएर अर्को संचारमाध्यमले खण्डन गर्नु पत्रकार आचारसंहिता विपरित रहेको ठहर गर्दै पत्रकार आचारसंहिताको पालना गर्न गराउन सबै संचारमाध्यम र पत्रकारहरुलाई आग्रह गरिएको छ ।