झापा , माघ २२ । हिजो साँझ सुनसरीको लौकही क्षेत्रको भोक्राहा नरसिंह–३ र ६ को सिमाना खुनिया खोला पुलमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नं. को सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नं. को काँकडभिट्टा– काठमाडौँ चल्ने यात्रुवाहक बस आपसमा जुध्दा आगलागी समेत भएको थियो । आगो नियन्त्रण गरेर राति साढे १० बजे मात्रै पूर्वपश्चिम सडक सुचारु गरिएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक पाँचथर घर भएका उमेर नखुलेका सुरेन राई, बसमा सबार तत्काल नाम थर वतन नखुलेका एक पुरुष, तत्काल नाम थर वतन नखुलेका ट्रक चालक रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सो दुर्घटनामा परी १३ जना घाइते भएका छन् । बसका कन्डक्टर झापा मेचीनगरपालिका ४ बस्ने वर्ष ३६ का रबिन ढुङ्गेल, मोरङ सुन्दर हरैचा ९ बस्ने वर्ष २२ का विक्रम कट्वाल बसमा सवार दोलखा बिगु ७ बस्ने वर्ष ५६ का मिङ्मा शेर्पा, बारा निजगढ ९ बस्ने वर्ष ४० का दीपक श्रेष्ठ, बसका सहचालक उदयपुर चौदण्डीगढी ४ बस्ने वर्ष २२ का दिलकुमार बिक, बसमा सवार महोत्तरी मठियानी ६ बस्ने वर्ष २९ का राहुलकुमार मण्डल, काठमाडौँ ३० बस्ने वर्ष ५० का सादकन मिया, भारत बस्ने वर्ष ४२ की मुना प्रधान, वर्ष ६० का उमेश लामा, वर्ष ६५ की अमृता लामा, बसमा सवार पाँचथर फिदिम १० बस्ने वर्ष ३८ का पेवाहाङ जगेबु, तेह्रथुम दाङगापा ९ बस्ने वर्ष ३३ का जितबहादुर लिम्बु र इलाम माई नगरपालिका ४ बस्ने वर्ष ४४ का गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको विराटनगरको नोबेल र न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्