सुरेश आले ‘सर्जु’,

बिर्तामोड , माघ २२ । बिर्तामोड नगरपालिकाका ३ वटा वडाले बेमौसमी बर्षाले क्षति पु¥याएको कृषकहरुको विवरण बुझाउने तयारी गरेका छन् ।

वडा नं.७, ८ र ९ का वडा कार्यालयमा यसको लगत संकलन गरी कागजात तयार गरिएको हो । टोल विकास संस्थामार्फत आएका नामावली र विवरणलाई अद्यावधिक गरी नगरपालिकाको कृषि शाखामा बुझाउने कार्य भैरहेको वडा नं.९ का वडा सचिव सुबास बिकले बताए ।

वडा नं. ९ का वडा अध्यक्ष पवित्रादेबी पाठकले वडामा आएको निर्देशन बमोजिम कृषकलाई राहत दिलाउन सम्पूर्ण वडाको तर्फबाट प्रक्रिया अगाडी बढाएको बताइन् । वडा सचिव बिकका अनुसार वडा न.९ मा ७०३ कृषकको नामावली संकलन भएको छ । त्यसमध्ये ३ सय जनाको अद्यावधिक भएको र थप अद्यावधिक हुने क्रममा छ । वडा नं.८ का वडा सचिब प्रकाश अधिकारीले वडा नं.८ का २२७ कृषकको विवरण अद्यावधिक गरिएको बताए । उनका अनुसार थप अद्यावधिक हुने कार्य भैरहेको छ ।
वडा न.७ का कार्यवाहक वडा अध्यक्ष चन्द्रकला पकुवालले ६१९ जना कृषकको नामावली आएकोमा अद्यावधिक हुने कार्य भैरहेको जानकारी दिइन् । वडा नं.७ का वडा सचिब प्रविन पौड्यालले वडाको तर्फबाट हुने अद्यावधिक र विवरण भर्ने अन्तिम तयारीमा वडा लागेको बताए ।

सरकारले कृषकको बैंक खाता, नागरिकता, जग्गाधनी पूर्जा , अधिया ठेक्का सहमतिपत्रलगायतका कागजात माग गरेकोमा सामान्य समस्या देखा परेपछि वडाको समन्वयमा सहज बनाई अद्यावधिक गरिएको वडा सचिबहरुको भनाई छ । छुटेको नामावलीलाई पनि सहभागी गराउने प्रक्रिया भैरहेको उनीहरुले बताए । राहत विवरण भर्ने क्रममा घटीमा २–३ कठ्ठादेखि बढीमा ४ बिगाहसम्म प्राप्त भएको जनाईएको छ । गत असोज महिनामा आएको बेमौसमी हावाहुरी र बर्षाले झापालगायतका जिल्लामा धान बालीमा ठूलो असर पुगेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्