झापा , माघ २२ । सार्वजनिक रुपमा बद्नाम गर्दै धम्की दिने बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईविरुद्ध प्रदेशभरिका पत्रकारहरु खनिएका छन् ।

प्रसाईको हर्कतविरुद्ध पत्रकार महासंघ झापा शाखाले प्रेस विज्ञप्ति जारी गरेको भोलिपल्ट पत्रकार महासंघ १ नं प्रदेश समितिले पनि विज्ञप्ति जारी गरी प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहोयाउन चेतावनी दिएको छ । प्रसाईले एक संचारमाध्यममा प्रकाशित समाचारलाई लिएर बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सिंगो पत्रकारितामाथि तथानाम गालीगलौज गर्दै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएका थिए ।

त्यस घटनाप्रति नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको महासचिव विवेक गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न भन्दै आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुलाई धाकधम्की दिनु र पत्रकारिताकै बद्नाम हुनेगरी अभिव्यक्ति दिनु आपत्तिजनक छ । कुनै पनि सञ्चारमाध्यममा संप्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्दति छ । त्यसलाई बेवास्ता गर्दै नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेतको जिम्मेवारीमा रहेका प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति तथा पत्रकारलाई सार्वजिक रूपमा ठाडो धम्की प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो ।’

महासंघको प्रदेश समितिले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन र सहज रुपमा पत्रकारिता गर्ने वातावरण तयार गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै पत्रकार र सञ्चारमाध्यमले पत्रकार आचारसंहिता पालना गर्दै आफ्नो पेशाकर्मलाई अगाडि बढाउनु पर्छ भन्दै त्यसमा सबै सञ्चारमाध्यम र पत्रकारहरूलाई गम्भीर रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्