बिर्तामोड , माघ २३ । १ नं प्रदेशको नामकरणको चर्चा चलिरहेको बेला संघीय लिम्बुवान राष्ट्रिय मंचले लिम्बुवान प्रदेशको लागि छलफल चलाउने भएको छ ।

नागरिक समाज, बुद्धिजीवि , पत्रकार सबैसंग संघीय लिम्बुवान राष्ट्रिय मंचले लिम्बुवान प्रदेशको लागि छलफल चलाउने भएको हो । आफूहरुको पार्टीको बटमलाइन नै १०ं१ भएको र त्यसमध्ये पूर्वको ९ जिल्लालाई लिम्बुवान प्रान्त घोषणा गरिनुपर्ने माग रहेकाले संविधान संशोधन गरी लिम्बुवानको पहिचान भएको ९ वटा जिल्लालाई एउटा प्रदेश घोषणा गरिनुपर्ने मंचका प्रान्तीय सचिव भविराज तुम्सा लिम्बुले बताए । बिर्तामोडमा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरु शुरुदेखि नै पहिचानको लागि लड्दै आएको स्पष्ट पारे । उनले लिम्बुवान प्रान्तका लागि सबैलाई सहयोग गर्न आव्हान समेत गरे । कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय उपाध्यक्ष इन्दिरा मेन्याङ्वोले प्रदेशको नामकरणको कुरा आइरहेकाले युवालाई सशक्त बनाउन युवा संगठन निर्माण गरिएको बताइन् । उनले आन्दोलनमा जानुपर्ने भएकाले जनवर्गीय संगठनलाई विस्तार र सुदृढ पार्दै लगेको जानकारी दिइन् ।

कार्यक्रममा संघीय लिम्बुवान राष्ट्रिय मंचको भातृ संगठनको रुपमा संघीय लिम्बुवान प्रान्तीय युवा मंच नेपाल गठन गरिएको जानकारी दिइयो । जसको इन्चार्जमा राजु राई रहेका छन् । त्यस्तै संयोजकमा ज्वाला इम्बुङ , सह–संयोजक आधार घिमिरे, सुमन हाङ्ग चेम्जोङ्ग, मिक्सन मिभक ,महासचिव पदम चेन्जी माबोलगायत २३ सदस्यीय रहेका छन् । मंचको गत पुष २८ गते दमकमा सम्पन्न प्रान्तीय पदाधिकारीहरुको बैठकले इन्दिरा मेन्याङ्वोको संयोजकत्वमा ७ सदस्यीय भातृ संगठन विभाग गठन गरेको थियो । जसको सदस्यहरुमा धनबहादुर पन्धाक , राजु राई , भुपेन्द्र सुन्दर लावती , मोहन मावो , दिपेन्द्र चेम्जोङ र सन्तोष तुम्बापो रहेका छन् । बैठकले १९ वटा भातृ संगठन गठन गर्ने निर्णय गरेको थियो ।

हालसम्म विधार्थी , महिला र युवा संगठन निर्माण गरिएको प्रान्तीय सचिव धनबहादुर पन्धाकले जानकारी दिए । उनले संघीय लिम्बुवान प्रान्तीय युवा मंच नितान्त भातृ संगठन भएको र यो कुनै सुरक्षा दस्ता नभएको स्पष्ट पारे । कार्यक्रममा संघीय लिम्बुवान राष्ट्रिय मंचका अन्य प्रान्तीय नेतृत्वहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्