बिर्तामोड , माघ २३ । बिर्तामोड नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलाई स्वागत गरिएको छ ।

नगरपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत गरिएको हो ।उनलाई नगरप्रमुख ध्रवकुमार शिवाकोटी र उपप्रुमख पवित्रा महतारा प्रसाईले खादा लगाइदिएर स्वागत गरे । न्यौपाने सुनसरीको दुहवी नगरपालिकाबाट सरुवा भएर आइतबार बिर्तामोड आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल सरुवा भएर फिदिम नगरपालिका गएपछि रिक्त रहेको ठाउँमा आएका न्यौपानेले आइतबारदेखि नै कार्यभार सम्हालेका छन् ।

स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारीबीच अहिलेसम्म कुनै पनि गुनासो नरहेको बताए । देश विकासमा कर्मचारीको भूमिका मुख्य रहने भन्दै उनले अनुशासन र कर्तव्यमा ध्यान दिन आग्रह गरे ।कर्मचारीका कारण कुनै पनि सेवाग्राहीले दुःख पाउन नहुने भन्दै उनले मुस्कानसहितको सेवामा जोड दिए ।

यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड प्रमुख प्रशासकीय अधिकृतविहीन भएको धेरै दिन भएका कारण योजनाका कामहरु धेरै थाँती रहेको बताइन् । उनले बिर्तामोडमा धेरै चुनौती रहेको र त्यसलाई सामना गर्दै बिर्तामोडलाई उदाहरणीय नगरका रुपमा विकास गर्नका लागि अघि बढ्न शुभकामना दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनप्रतिनिधिसंग समन्वय गर्दै नगरपालिकाको विकासका काममा प्राथमिकताका साथ लाग्ने प्रतिवद्वता व्यक्त गरे । जनप्रतिनिधिको मुल्यांकन कर्मचारीकै कामले हुने भन्दै यसलाई व्यवस्थित ढंगले अघि बढाउने उनले बताए । उनले नगरपालिकामा अहिलेसम्म भएका विषयगत शाखाहरुको कार्यप्रगति विवरण हेरेर थप योजनाका साथ अघि बढ्ने पनि बताए । नगरप्रमुख शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख प्रसाईले स्वागत गरेकी थिइन् ।कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्