बिर्तामोड , माघ २५ । सैनिकमोड –विराटपोखर –सैनिकबजार सडक अर्को सातादेखि निर्माण हुने भएको छ ।

सडक डिभिजन कार्यालय दमकबाट सो सडक निर्माणका लागि खनाल शान्ति जेभीले ठेक्का पाएको छ । सैनिकमोडदेखि ४ किलोमिटर दक्षिण सैनिकबजारसम्म ५ करोड २४ लाख ४१ हजार ३९५ रुपैयाँमा ठेक्का लाग्ने भएको हो । सडक डिभिजन कार्यालयले सो कम्पनीको नाममा आशय पत्र जारी गरिसकेको छ । आशयपत्रको म्याद ७ दिनको रहने र त्यसको १५ दिनभित्र संझौता गरी काम थाल्न ठेकेदार कम्पनीलाई निर्देशन दिइने डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले बताए ।

यसैबीच धेरै समयपछि निर्माण हुन लागेको सो सडकका बारेमा ठेकेदार , जनप्रतिनिधि ,पार्टी प्रतिनिधि र उपभोक्ताबीच मंगलबार छलफल भएको छ । छलफलमा ठेकेदार कम्पनीका प्रतिनिधि अनिल भट्टराईले सडकको लम्बाई ४ किलोमिटर हुने , ७ मिटर चौडाई कालोपत्रे बन्ने , त्यसको दुवैतर्फ एक–एक मिटर फिलिङ गरिने र त्यसको साइडमा दुवैतर्फ नाला रहने जानकारी दिए । सो सडकको क्षेत्र ६० फुट रेखांकन गरिएको छ । त्यसभित्र धेरै संरचनाहरु परेका छन् । ती संरचना हटाउनका लागि पहल गरिदिन ठेकेदार कम्पनीका प्रतिनिधि भट्टराईले आग्रह गरेका छन् ।

छलफलमा बोल्दै नेपाली कांग्रेस झापाका सचिव नविन बिमलीले कुनै पनि बहानामा बाटो रोकियो भने फेरि ओझेलमा पर्न सक्ने भन्दै सडक क्षेत्रभित्र परेका संरचना हटाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । छलफलमा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले ठेक्का लागिसकेपछि बाटो नबन्ने आशंका हटेको बताए । उनले आफ्नो वडाभित्रका संरचनाहरु हटाउन आफूले पहल गर्ने आश्वासन दिए । छलफलमा वडा नं १० का जनप्रतिनिधिहरु गीता पोखरेल , अर्जुन सिटौला , नेकपा एमालेका इन्द्र प्रसाई , श्री शिवाकोटी , कांग्रेसका श्याम गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्