झापा , माघ २६ । चिनियाँ वैज्ञानिकहरुले कोभिड-१९ को परीक्षण गर्ने नयाँ यन्त्र निर्माण गरेका छन् जसले चार मिनेटमै नतिजा देखाउन सक्ने बताइएको छ ।

यसबाट प्राप्त नतिजा पीसीआर परीक्षण जत्तिकै स्तरमा सही भएको पनि बताइएको छ । सांघाइको फुदान युनिभर्सिटीका खोजकर्ताहरुले यसलाई अझ विकसित गर्ने हो भने यो यन्त्रलाई विमानस्थल, क्लिनिक, आपतकालीन विभाग र घरमा पनि व्यापक रुपमा कोभिड परीक्षणका लागि प्रयोग गर्न सकिने बताएका छन् । पीसीआर भन्दा विपरीत यसमा धेरै समय लाग्ने ल्याबको विश्लेषण आवश्यकता नपर्ने हुनाले पनि छिटै नतिजा निकाल्न सकिन्छ । यो यन्त्रले डीएनएबाट बनेको एकदम सुक्ष्म ‘मेकानिकल’ तत्वलाई ‘माइक्रोइलेक्ट्रोनिक्स’ सँग मिलाएर स्वाबको स्याम्पलमा भाइरसको ‘जेनेटिक मटेरियल’ पहिचान गर्छ । अनि त्यसलाई इलेक्ट्रिक सिग्नलमा परिणत गर्दछ । यसपछि स्मार्टफोन या कम्प्युटर जेसँग कनेक्ट गरिएको हुन्छ त्यसैमा नतिजा पठाउँछ । चलाउनमा सजिलो, उच्च संवेदनशीलता, सटिकता र बोकेर यताउती गर्न पनि एकदमै सहज भएको हुँदा तिव्र गतिमा नतिजा निकाल्न यो यन्त्र धेरै फाइदाजनक साबित हुन सक्ने विज्ञहरुको टोलीले ‘नेचर बायोमेडिकल इन्जिनियरिङ’ जर्नलमा लेखेका छन् ।

कोभिडको अधिक संक्रमक भेरियेन्ट ओमिक्रोन र डेल्टा बढ्दो रुपमा फैलिएसँगै विश्वव्यापी कोभिड टेस्टिङ उपकरणको माग एकदमै उच्च बन्न पुगेको छ । त्यसैले स्वदेश र विदेशको लगातार बढ्दो माग धान्न चिनियाँ टेस्टिङ किट निर्माताहरु ठूलो दौडधुप गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले अहिलेसम्म पीसीआर परीक्षणले नै कोभिडको सबैभन्दा सहि नतिजा निकाल्न सक्ने उल्लेख गरेको छ । तर यसमा स्याम्पलहरु प्रशिक्षित अधिकारीहरुले ल्याबमा परीक्षण गराउनु पर्ने हुन्छ भने नतिजा एक दिनदेखि केही दिनसम्म पाउन सकिन्छ । अर्कोतर्फ एन्टिजेन परीक्षण चाहिँ जहाँसुकै गर्न सकिन्छ । यो धेरै सस्तो र सजिलो पनि लाग्छ त यसको नतिजा पीसीआर जत्तिको सही हुँदैन । यस्तोमा फुदान खोजकर्ताहरुका अनुसार यो नयाँ यन्त्रले संकलित सबै स्वाबको नतिजा प्रति व्यक्ति चार मिनेटमै देखाएको छ । ती सबै स्याम्पलहरुको अगाडि नै पीसीआर परीक्षण पनि गरिएको थियो । त्यसैले यसले जाँच गरिएका ५४ स्याम्पलमा कोभिड नभएका कसैमा पनि गलत ‘पोजेटिभ’ नदेखाएको रिपोर्टमा उल्लेख छ । यसमा २३ जनाको समुहलाई ज्वरो आएपनि पीसीआरमा नेगेटिभ आएको थियो भने ६ जनालाई चाहिँ रुघाखोकी थियो र बाँकी २५ स्वस्थ स्वयमसेवकहरु रहेका थिए । विज्ञहरुको टोलीले भनेको छ, “यसले पूणर् रुपमा पीसीआरबाट प्राप्त नतिजा नै देखाएको छ । ”यसैगरी रिपोर्टमा यो यन्त्र भविष्यमा अन्य रोगहरुको पहिचान गर्न पनि उपयोगी हुन सक्ने बताइएको छ । जर्नलमा लेखिएको छ, “कोभिड-१९ बाहेक यसको ‘मोलिक्युलर इलेक्ट्रोमेकानिकल’ प्रणालीले अन्य रोगहरुको पनि पहिचान पनि केही मिनेटमै नतिजा देखाउन सक्छ । यसमा किटाणुको ‘एम्प्लिफिकेसन या कल्चर’ गर्न समेत जरुरी पर्दैन जसका लागि सामान्यतय केही घण्टा या दिन लाग्ने गर्दछ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्