झापा , माघ २६ । काँकरभिट्टामा बरामद भएको विष्फोटक पदार्थ नेपाल भित्राउने व्यक्ति म्याग्दीबाट पक्राउ परेका छन् ।

आज इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिका बारेमा जानकारी गराईएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी काँकरभिट्टाको टोलीले २८ वर्षीय चिरण रोक्कालाई माघ २१ गते म्याग्दीबाट पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका रेक्का म्याग्दीको रुममा मालिका गाउँपालिका-२ का स्थानीय हुन् । उनले पश्चिममा ढुगां उत्खन्नका लागि विष्फोटक पदार्थ लगेको बयान प्रहरीले दिएको छ । रोक्काले यसअघि ३ पटक विष्फोटक पदार्थ नेपाल भित्राएको प्रहरीको भनाइ छ । उनले ०७२ , ०७४ र ०७५ सालमा नेपोलाइट र डिटोनेटर नेपाल भित्राएका थिए । त्यसबेला पनि भारतको दार्जिलिङ र काँकरभिट्टामा पक्राउ परी धरौटीमा छुटेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार रोक्का भारतको मेघालय राज्यको सिलोङ्गको कोइलाखानीमा काम गर्ने मजदुर हुन् । उनले नेपोलाइट र डिटोनेटर प्रतिसेट भारतीय ३५ रुपैयाँमा खरिद गरी पश्चिम ढुंगाखानीका ठेकेदारलाई ३५ सयसम्ममा बिक्री गर्ने गरेको प्रहरीलाई बयान दिएको बताईएको छ । “यसअघि चर्चा भएजस्तो यो घटनामा भूमिगत समुहको संलग्नता देखिएन”, जिल्ला प्रहरीका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले भने- “घर आउँदा जाँदा अलिकति भएपनि कमाई हुने रहेछ । त्यसैले प्रायः घर आउँदा उक्त सामान ल्याउने गरेका रहेछन् । ” यही माघ १८ गते मोचीनगर-७ गैरीगाउँमा बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले ८० वटा डेटोनेटर र ९१ वटा नेपोलाइट एक्सप्लोसिभ बरामद गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्