बिर्तामोड , माघ २७ । बिर्तामोडका जनप्रतिनिधिरूको पहिलो अर्थात् ५ वर्षे कार्यकाल पूरा हुन ३ महिना मात्रै बाँकी छ । यतिबेला उनीहरुले गरेको कामको समीक्षा गर्ने बेला आएको छ । पूर्वको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले पाँच वर्ष कार्यकाल विजोगले चलाएका छन् ।

गरामनीको संयुक्त वडा कार्यालय

बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले आफू बसेको वडा कार्यालय भवन ५ वर्षसम्म पनि बनाउन सकेनन् । कसैले अर्काको भवनमा जवर्जस्ती बसेर जसोतसो दिन कटाए भने कसैले भाडाको घरमा काम चलाए । त्यस्तै एउटै भवनमा तीनवटा वडा कार्यालय विगत पाँच वर्षदेखि संचालन भइरहेको छ । बिर्तामोडका १० वटा वडा कार्यालयमध्ये एउटै पनि व्यवस्थित नहुँदा बिर्तामोड नगरपालिकाको व्यवस्थापन र जनप्रतिनिधिहरुको कार्यकुशलताका बारेमा प्रश्न उठाउने प्रशस्त ठाउँ देखिएको छ । बिर्तामोड नगरपालिका कार्यालयदेखि वडा कार्यालयको अवस्था उस्तै छ । १ नं देखि १० नं सम्मको वडा कार्यालयहरु कुन अवस्थामा छन् त ?

महिला संजालको भवनमा १ नं वडा कार्यालयको रजाई

बिर्तामोड नगरपालिकाको १ नं वडामा जनप्रतिनिधिहरु निर्वाचित भएपछि बस्ने ठाउँ थिएन । उनीहरुले साविक चारपाने गाविस(हाल बिर्तामोड २ नं वडा कार्यालय) मा बसेर एक महिनाजति काम चलाए । त्यसपछि वडा नं १ मै रहेको अन्तर पार्टी महिला संजालको कार्यालयमा बसाइ सरेर आए । जिल्ला समन्वय समितिले निर्माण गरिदिएको त्यस भवनमा १ नं वडा कार्यालयको रजाई भएको छ । अहिलेसम्म भाडा नतिरेका वडाका जनप्रतिनिधिहरुले आफ्नो भवन बनाउनेतर्फ चासो नै लिएका छैनन् । अन्तर पार्टी महिला संजालले भनेको दिन आफूहरुले घर खाली गरिदिनु पर्ने वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले बताए । जग्गा दिने दाताको अभावमा पाँच वर्षसम्म आफ्नो भवन बनाउन नसकिएको उनले स्वीकारे ।

अर्काको जग्गामा २ नं वडा कार्यालयको आफ्नो भवन
बिर्तामोड नगरपालिका २ नं वडा कार्यालय साविक चारपाने गाविसको भवनमा संचालन हुँदै आएको छ । वीर अमरसिंह माविको जग्गामा चारपाने गाविसले भवन बनाएको थियो । सोही भवनमा २ नं वडा कार्यालय संचालन हुँदै आएको हो । विद्यालयको एक कठ्ठा जग्गा वडा कार्यालयले ओगटेको देखिन्छ । अर्काको जग्गा र भवन पनि जीर्ण भइसकेकाले अर्को ठाउँ सर्नैपर्ने खाँचो रहेको वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले बताए ।‘ हामीले पार्किङसहितको खुल्ला जग्गा खोजेर त्यही आफ्नै भवन बनाउने सोच बनाएका छौं ’ उनले भने , ‘ दाता पाए निशुल्क नत्र लिजमै लिएर भवन बनाउने योजना थियो ।’ आफ्नो कार्यकालमा त्यो योजना संभव नभएको उनले बताए ।

पुस्तकालयमा ३ नं वडा कार्यालय
बिर्तामोड ३ का जनप्रतिनिधिहरु निर्वाचित भएपछि बस्ने ठाउँ नभएर करिव एक वर्ष नगरपालिकाको पुरानो भवनमा बसेर उनीहरुले दिन कटाए । त्यसपछि २०७५ कात्तिक १८ गते पुस्तकालयमा वडा कार्यालय सारियो । नगरपालिकाको जग्गामा पुस्तकालय रहेको थियो । त्यसलाई मर्मत संभार गरी वडा कार्यालयलाई स्थानान्तरण गरिएको वडा सचिव भीम अधिकारीले बताए । आफूहरुले मुश्किलले त्यस घरमा कार्यालय संचालन गरिरहेको उनले समस्या सुनाए । सेवाग्राहीहरुको अत्याधिक चाप र अव्यवस्थित ठाउँ भएकाले काम गर्न सहज नभएको उनको भनाई छ ।

ओली भवनमै गुजारा काट्दै ४ नं वडा कार्यालय
प्रतिमहिना २० हजार भाडा तिरेर ४ नं वडा कार्यालय ओली भवनमा बसेको पाँच वर्ष बित्न लाग्यो । सो भाडा नगरपालिकाले तिरिदिने गरेको छ । आफूहरुको पाँच वर्ष भाडाकै घरमा बितेको वडाध्यक्ष कुलप्रसाद संग्रौलाले स्वीकारे । जग्गाको खोजी गर्दागर्दै पाँच वर्ष बितेको उनले बताए । नगर परिषदमा पुरानो बिजुली अफिसको जग्गामा वडा कार्यालय बनाउन आफूले प्रस्ताव गर्दा बनाउन नमिल्ने जवाफ आएको र अन्यत्र जग्गा नभेटिएको वडाध्यक्ष संग्रौलाले जानकारी दिए ।

सबैभन्दा विजोग ५ नं वडा कार्यालयको

बिर्तामोडका १० वटा वडा कार्यालयमध्ये सबैभन्दा बढी विजोग ५ नं वडा कार्यालयको रहेको छ । कृषि बजार व्यवस्थापन समितिको घरमा सो वडा कार्यालय जबर्जस्ती संचालन हुँदै आएको छ । त्यस बिषयमा वडा कार्यालय र कृषि बजार व्यवस्थापन समितिबीच लामो समयदेखि विवाद चल्दै आएको छ । वडा कार्यालयले अहिलेसम्म समितिलाई बसेवापत भाडा तिरेको छैन ।यसरी वर्षौसम्म निशुल्क रुपमा बसेको वडा कार्यालयलाई गत पुषभित्र घर खाली गर्न कृषि बजार व्यवस्थापन समितिले पत्र पठाएको थियो । माघ १ गतेभित्र घर खाली गर्न वडा कार्यालयलाई पत्र पठाइएकोमा अझै खाली नगरेको समितिका अध्यक्ष कमलप्रसाद पौडलले गुनासो गरे । स्थानीय तहको निर्वाचन भएपछि २०७४ असोजदेखि बिर्तामोडको ५ नं वडा कार्यालय कृषि बजार व्यवस्थापन समितिको पुरानो घरमा बसेको थियो । समितिको घर जीर्ण भइसकेपछि कृषि विभागले समितिका लागि बनाइदिएको भवनमा २०७७ सालदेखि वडा कार्यालय सरेको छ । वडा कार्यालय सरेपछि कृषि बजार व्यवस्थापन समिति पुरानो घरमै बस्न बाध्य भएको छ । यतिका दिनसम्म जसोतसो चलाएको र अब केही दिनका लागि झगडा नगरी आफूहरु कृषि बजार व्यवस्थापन समितिको भवनमै बस्ने वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताए । ‘नगरपालिकालाई स्थानीय सरकार र वडा कार्यालयलाई मन्त्रालय मानिन्छ ’उनले भने ,‘ मन्त्रालयको चाहिँ आफ्नो भवन छैन । ’ आफूले कृषि बजार व्यवस्थापन समितिको भवनमा बस्दा आइपरेको अप्ठ्याराका बारेमा पटक पटक नगरपालिकामा भनेपनि सुनुवाई नभएको उनले गुनासो गरे ।

कार्यकालको अन्तिममा वडा नं ६ र ७ ले भवन बनाउँदै
अर्काको र भाडाको घरमा पाँच वर्ष बिताउन लागेका ६ र ७ नं वडा कार्यालयले कार्यकालको अन्तिमतिर आफ्नै भवन बनाउँदैछन् । गोपिकृष्ण प्रसाईले दिएको ३ कठ्ठा जग्गामा करिब ४० लाखको लागतमा ६ नं वडा कार्यालयले भवन बनाएको हो । भवन निर्माण सम्पन्न भएर आगामी फागुनतिर आफ्नै भवनमा सर्ने योजना बनाइएको ६ नं वडाका वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बताए । हालसम्म कार्की थरका व्यक्तिको घरमा प्रतिमहिना १० हजारको दरले भाडा तिरेर ६ नं वडा कार्यालय संचालन हुँदै आएको छ । त्यस्तै ७ नं वडा कार्यालयको भवन पनि निर्माणाधिन अबस्थामा छ । तुलसी कडरियालगायतले निशुल्क दिएको साढे १५ कठ्ठा जग्गामा करिव ३१ लाखमा वडा कार्यालय भवन निर्माण भइरहेको छ । कार्यकाल सकिनु अगावै आफ्नै भवनमा सर्ने योजना रहेको कार्यवाहक वडाध्यक्ष चन्द्रकला पकुवालले बताइन् । हालसम्म ७ नं वडा कार्यालय गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा आश्रित छ । ७ , ८ र ९ नं वडा कार्यालय एउटै भवनमा संचालित छन् । एउटै कोठामा ९ नं वडा कार्यालयसंग आफ्नो पनि वडा कार्यालय संचालन गर्दा अनेकौं समस्या भोग्नु परेको उनले सुनाइन् ।

भद्रगोलमा संयुक्त वडा कार्यालय
विगत पाँच वर्षदेखि साविक गरामनी गाविस कार्यालयमा ७ , ८ र ९ नं वडा कार्यालय संचालन हुँदै आएको छ । ७ नं वडा कार्यालयले आश्रय लिएको हो भने ८ र ९ न. वडा कार्यालय दुवैले त्यसलाई आ–आफ्नो दावी गर्दै आएका छन् । त्यसक्रममा पटकपटक विवाद पनि पर्दै आएको छ । आफ्नो भूगोलभित्र परेको सो कार्यालय आफूहरुको भएको वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले बताए । आफूहरुले पटकपटक खाली गर्न भन्दा पनि अटेर गरेको र एउटै भवनमा तीनवटा कार्यालय बस्दा समस्या भएको उनले बताए ।‘ निस्केर जानुहोस् भन्दा जान मान्नुहुन्न ’ उनले भने ,‘ जबर्जस्ती धकेलेर निकाल्न मिलेन ।’
अर्कोतर्फ ९ नं वडा कार्यालयले सो भवन आफ्नो भएको दावी गरेको छ । जनार्दन उप्रेतीले दान दिएको भवनको जग्गा साविक गरामनी ७( हाल बिर्तामोड ९) मा परेकाले त्यो भवनमाथि ९ नं वडा कार्यालयको अधिकार रहेको वडा सदस्य बालकृष्ण कार्कीले बताए । पछिल्लो सर्पट नापीमा वडा नं ८ ले हालसाविक गरेको हुनसक्ने उनले आशंका गरे । यसरी एउटै भवनमा ७,८ र ९ नं वडाका जनप्रतिनिधिहरुले विवाद गरेर पाँच वर्ष बिताएका छन् ।

बाल संगठनको भवनमा १० नं वडा कार्यालय
अरु वडाजस्तै १० नं वडा कार्यालयले पनि आफ्नो बनाएको छैन । युएनडीपीले बाल संगठनलाई बनाइदिएको घरमा वडा कार्यालय संचालन भइरहेको छ । त्यही घरलाई वडा कार्यालय बनाइएको वडाध्यक्ष दुर्योधन गुरुङले बताए । बाल संगठन विघटन भएपछि सरकारले बाल विकास प्रावि सञ्चालन गरेकोे र सो विद्यालय महेन्द्र ज्योति माविमा गाभेपछि सो चलअचल सम्पत्ति महेन्द्र ज्योति माविको भएको प्रधानाध्यापक प्रेम सुव्बाले बताए ।सो जग्गाको धनीपुर्जा महेन्द्र ज्योति माविको नाममा रहेको र ५वर्ष बितिसक्दा पनि एक पैसा पनि भाडा वडा कार्यालयले दिन नसकेको प्रधानाध्यापक सुव्वाले बताए । अन्य नगरपालिकामा हेर्दा वडाध्यक्षको सचिवालयको व्यवस्था भएको पाइन्छ । तर , बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतदेख लिएर कुनै पनि वडाध्यक्षको सचिवालय छैन । नगरपालिका भवन समेत व्यवस्थित नहुँदा काम गर्न सहज नभएको कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्