भद्रपुर, माघ २८ । लेखनाथ पुस्तकालय भद्रपुर–१० चन्द्रगढीले आफ्नो नियमित मासिक कार्यक्रम शुक्रवारे भेलामा उदीयमान नारी स्रष्टा इन्दिरा कुसुमको ‘पीडाभित्रका नारी’ कथा संग्रहको लोकार्पण गरेको छ ।

भाषाविद एवम् अग्रज स्रष्टा चूडामणि रेग्मीको प्रमुख आतिथ्य, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई अर्याल, रुद्रगौरी श्री अम्बिका ओली स्मृति प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, नारी स्रष्टा समाज प्रदेश नं १ को अध्यक्ष ममता मृदुल र कवि तथा साहित्यकार होम सुवेदीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि रेग्मीलगायत विशिष्ट अतिथिहरुले कृति लोकार्पण गरेका थिए ।

लोकार्पित कृतिको समीक्षा साहित्यकार लता खरेलले गरेकी थिईन्। समीक्षाका क्रममा खरेलले कृतिकार इन्दिरा कुसुम नेपाली साहित्यको क्षेत्रमा भर्खरभर्खर कलम चलाउन थालेकी नवोदित तर उदीयमान साहित्यिक स्रष्टा भएको बताइन् । प्रमुख अतिथि रेग्मीले लेखनाथ पुस्तकालयले आयोजना गर्दै आएको मासिक कार्यक्रम शुक्रवारे भेला सुरुका दिनहरु भन्दा अहिले व्यापक हुँदै गएको र धेरै कवि साहित्यकारहरुका कविता,कथा संग्रह , उपन्यास, खण्डकाव्य तथा महाकाव्यहरु पनि लोकार्पण गर्दै आएको प्रसंग उल्लेख गर्दै इन्दिरा कुसुमको पहिलो कृति लोकार्पित भएकोमा प्रसन्नता व्यक्त गरेका थिए ।

यसैगरी शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि नारी स्रष्टा समाज प्रदेश नं १ की अध्यक्ष ममता मृदुलले परम्परागत सोचबाट माथि उठेर आजको सामाजिक धरातलमा उभिएर अबको पुस्ताले आफ्ना सिर्जनाहरु लेख्नुपर्ने बताइन् ।शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि सुभद्रा भट्टराई अर्यालले लोकार्पित कृति नारीभित्रको पीडा नभएर पीडाभित्रका नारी शीर्षक राखिनुको खास अर्थ राखेको बताईन् । कृतिकार इन्दिरा सुवेदीले मन्तव्यका क्रममा आफूले यस समाजभित्र देखेका र आफ्ना आमा,हजुरआमाहरुले भनेका र सुनेका घटनाक्रमहरुलाई समेटेर कथाको विषयवस्तु बनाएको बताइन् । लेखनाथ पुस्तकालयका सभापति विरही अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतिविद् सताब्धी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरिएको थियो । पुस्तकालयका उपसभापति हरिप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहसचिव गीता सुवेदी नेपालले गरेकी थिईन्। कार्यक्रममा तीर्थ चापागाईँले कविता वाचन गरेका थिए ।

कार्यक्रममा लेखनाथ पुस्तकालयका निवर्तमान सभापति नवराज घिमिरे,पूर्व सभापतिहरु कृष्ण सुवेदी‘निराकार’ र देवीचरण भण्डारी ‘सरोज’ , कवि उषा गुरुङ, उमानाथ पोखरेल, गोपाल आचार्य, हरिप्रसाद नेउपाने,आनन्दप्रसाद घिमिरे, भानुभक्त कुभिण्डेली, गोविन्द कोईराला, खगेश्वर कोईराला, अनिरुद्र सिटौला, हरिकिशोर आचार्य, विष्णुप्रसाद उप्रेती , दयाराम उप्रेतीलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्