बिर्तामोड , माघ २९ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था फेरि देशकै उत्कृष्ट भएको छ ।

यसअघि सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यस वर्ष दोस्रो पटक उत्कृष्ट घोषित भएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट सेवाग्राही घोषित गर्दै पुरस्कृत गर्ने भएको छ ।

यहि फागुन २ गते काठमाण्डौको दरबार मार्गस्थित होटल याक एण्ड यतिमा हुन लागको कोषको ३४ औं बार्षिक उत्सवको अवसर पारेर बिर्तामोड खानेपानी संस्थालाई दोस्रो पटक पुरस्कृत गर्न लागिएको हो । खानेपानी संचालन ,पानीको गुणस्तरीयता , महशुल ,लिकेजलगायतलाई आधार मानेर दश जनाको विज्ञ टोलीले गरेको मूल्यांकनमा आफूहरुको संस्था उत्कृष्ट बन्न सफल भएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताए । उनले यसअघि पर्शुराम सिटौला उपाध्यक्ष हुँदा सन् २०१८ मा पनि आफूहरुको संस्था उत्कृष्ट बनेको जानकारी दिए ।

आफूहरुको संस्थाले नगर विकास कोषबाट आयोजना संचालन , मर्मत संभारका लागि लिएको ऋणको भुक्तानी , आयोजना समयमै सम्पन्न ,उपभोक्ताहरुलाई दिएको सुविधाजस्ता मापदण्डमा संस्था अगाडि रहेको र त्यसैको प्रतिफल स्वरुप उत्कृष्ट घोषित भएको संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिए । संस्थाका संस्थापक अध्यक्ष टोरुप प्रसाईले नेतृत्व सम्हालेदेखि नै बिर्तामोड खानेपानी संस्था अब्बल रहँदै आएको छ । पछिल्लो समय जलकुमार गुरुङले अध्यक्षता गरेदेखि यसको कुशल व्यवस्थापनका कारण यसले देशभरिमै आफ्नो पहिचान बनाउन सफल भएको हो । सामाजिक क्षेत्रसहित कोषले निर्धारण गरेको मूल्यांकनका आधारमा पुरस्कृत गर्न लागिएकोमा कोषप्रति संस्थाले आभारसहित धन्यबाद प्रकट गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्