बिर्तामोड, माघ २९ । नेपाली कांग्रेस बिर्तामोडको १० नं वडा समितिले तीनजना व्यक्तित्वलाई सम्मान गरेको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका ओमप्रकाश सरावगी , राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत र राष्ट्रिय भूमि आयोगका झापा अध्यक्ष तिलकसिंह पाण्डेलाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस १ नं प्रदेशका सभापति उद्धव थापा , जिल्ला सभापति देउमान थेबे , वडा सभापति मदनकुमार गुरुङलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गरेका प्रदेश सभापति थापाले एमालेको झुठो आश्वासनमा लागेर स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन नसके फेरि पनि ठूलो पीडाबोध हुने र देश बीसौं वर्ष पछि धकेलिने बताए । उनले गत निर्वाचनमा गरिबको पार्टी भनेर गरिबलाई झुक्याएर सूर्य चिन्हमा भोट हाल्न लगाउँदा आज रुँदै बस्नु परेको भन्दै जनताले कम्युनिष्टहरुको दरिद्रता देखिसकेको बताए ।

वडा सभापति मदन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरु मन्त्री सरावगी , राष्ट्रिय सभा सदस्य बस्नेत , भूमि आयोगका अध्यक्ष पाण्डे , जिल्ला सभापति थेबे , जिल्ला सचिव नविन बिमली,कांग्रेसका बिर्तामोड नगर सभापति भोजराज सिटौलालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रेम आचार्य र खेमराज राईले गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्