भद्रपुर , फागुन ४ । कोरोना संक्रमणका कारण भद्रपुर २ स्थित किचकबध धार्मिक , ऐतिहासिक तथा पर्यटकीय स्थलमा मेला नलाग्ने भएपनि भद्रपुर , हल्दिबारी र कचनकवलले आज सार्वजनिक विदा दिएका छन् ।

स्वस्थानी पूर्णिमाको दिन आज किचकबधमा मेला लाग्ने गरेको छ । किचकबध धार्मिक तथा पर्यटकीयस्थल संरक्षण समिति भद्रपुर २ र ३ ले फागुन १ गते सार्वजनिक सूचना जारी गरी यस वर्ष पनि मेला नलाग्ने जानकारी गराएको थियो ।
कोरोना संक्रमणका कारण विगत तीन वर्षदेखि मेला लाग्न सकेको छैन । परम्परागत रुपमा लाग्दै आएको किचकबध मेला कोरोना संक्रमणका कारण तीन वर्षदेखि लाग्न नसकेको समितिका सचिव मदन कँडेलले बताए । उनले औपचारिक रुपमा मेला नलगाएपनि पूजाआजा गर्न आउने भक्तालुहरुका लागि समितिले व्यवस्थापन गर्ने जानकारी दिए ।
मेला नलाग्ने भएपनि भद्रपुर नगरपालिकाले स्थानीय विदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले आइतबार सूचना जारी गरी किचकबध मेलाका दिन नगरकार्यपालिकाको कार्यालय ,वडा समितिको कार्यालय र नगरकार्यपालिका अन्तर्गतका सबै निकायहरुमा स्थानीय विदा दिएको जानकारी गराएका छन् ।
त्यस्तै हल्दिबारी र कचनकवल गाउँपालिकाले पनि विदा दिएका छन् ।महाभारतकालीन इतिहाससंग जोडिएको त्यस ठाउँमा भीमले किचकलाई मारेपछि किचकबध नाम रहन भएको भनाई छ ।