झापा, फागुन ५ । बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि पोशाक वितरण कार्यक्रम शुरु गरेको छ ।

नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्न शुरु गरिएको हो ।

बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शाखा अधिकृत दिनेशप्रसाद आचार्य,शिक्षा अधिकृत जानुका रेग्मी,केशरबहादुर खवाससहितको टोलीले ४ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो । बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयका १६४ जना,वडा नम्बर ७ विरानमा रहेको लक्ष्मी आधारभूत विद्यालयका ८३ जना,जनता प्राथमिक विद्यालय खालवाडीका १४७ जना र वडा नम्बर ८ दउनियामा रहेको शुक्रराज आधारभूत विद्यालयका १६८ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

नगरप्रमुख शिवाकोटीले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको बताए । अभिभावकहरुले पोशाक खरिद गर्न नसकेका कारण विद्यार्थीहरु विद्यालय जानसमेत नमान्ने गरेको भन्दै उनले पोशाक वितरणले विद्यालयप्रति आकर्षण समेत बढ्ने बताए ।

यस्तै उपप्रमुख प्रसाईले दैनिक ज्यालादारी गरेर छोराछोरी विद्यालय पठाएपनि ड्रेस किन्न नसक्ने अवस्थामा रहेका अभिभावकहरुलाई मध्यनजर गर्दै पोशाक वितरण गरिएको बताइन् । ।कतिपय विद्यार्थीहरुले आफसंग अरुको जस्तो ड्रेस नभएका कारण मन दुखाउने,हिनतावोध गर्ने भएकाले पनि विद्यार्थीहरुमा एकरुपता ल्याउन पोशाक वितरण गरिएको बताइन् ।

यस्तै शिक्षा शाखा प्रमुख भण्डारीले पोशाक वितरणको मुख्य उद्धेश्य समता कायम गर्नु रहेको बताए । उनले सबै बालवालिकाहरुलाई एउटै प्रकारको पोशाकमा,एउटै खालको वातावरणमा घुलमिल हुन सिकाउने उद्धेश्यले यो कार्यक्रम अघि बढाइएको जानकारी दिए ।पोशाक वितरणले वालवालिकाहरुलाई विद्यालयमा नियमित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

पोशाक वितरण कार्यक्रममा बिर्तामोड ६का वडाध्यक्ष सूर्य कन्दङ्वा,वडा नम्बर ७ की कार्यवाहक वडाध्यक्ष चन्द्रकला पकुवाल,सिएच गार्मेन्ट विर्तामोडका सञ्चालक मोती गौतम,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । विहिबारदेखि नगरका २ वटा धार्मिकसहित बाँकी १६ वटा सामुदायिक विद्यालयमा पुगेर पोशाक वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्