झापा , फागुन ५ । झापा गोल्डकपको पाँचौँ संस्करणको मस्कट, गीत र नारा सार्वजनिक गरिएको छ ।

झापा गोल्डकप मुल आयोजक समितिले बिहीबार बिर्तामोडस्थित सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मस्कट, गीत र नारा सार्वजनिक गरेको हो । गोल्डकप यही फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगरपालिका-३मा डोमालाल राजवंशी रंगशालामा आयोजना हुन लागेको छ । गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । झापाको भूगोल र यहाँका फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल खेलको हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । गीतमा वसन्त थाम्सुहाङको शब्द र पारस मुकारुङको संगीत रहेको छ । यस्तै‚ डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दीपा लामाको स्वर रहेको छ ।

गोल्डकपको औपचारिक मस्कटका रुपमा हात्तीको छावा राखिएको छ । मस्कटमा छावाले फुटबल हान्दै गरेको राखिएको छ । मस्कटको निर्माण कलाकार पवन राजवंशीले गरेका हुन् । यो वर्षको झापा गोल्डकपको नारा ‘डोमालाल राजवंशी रंगशालाको संरक्षण, झापा गोल्ड कप झापालीको पहिचान’ तय गरिएको छ । झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ नारा तय गरिएको अध्यक्ष बस्नेतले बताए । गोल्डकप नजिकिएसँगै डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत कार्य सुरु समेत गरिएको छ । खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने काम धमाधम भइरहेको छ । रंगशालामा करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापिट पनि निर्माण गरिने समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्