झापा , फागुन ५ । झापाका विभिन्न स्थानमा शंकास्पद वस्तु राखेर बम आतंक मच्चाउने हिमाल सुरक्षा परिषदका ९ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । गत माघ ९ गते बिर्तामोडको पश्चिम बस स्टेण्डमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर र हिमाल सुरक्षा परिषद नामको पर्चाहरु राखेर आतंक सिर्जना गरेका थिए ।

त्यस्तै माघ १३ गते दमक नगरपालिका वडा नं ५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामका पर्चाहरु फेला परेको थियो । ती घटनापछि १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर क्षेत्रीय अनुसन्धान समूह(आरटीआई),जिल्ला प्रहरी कार्यालय झापा,ईलाका प्रहरी कार्यालय बिर्तामोड र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रयासबाट सो गतिविधिमा संलग्न व्यक्तिहरुलाई फरक फरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

पक्राउ पर्नेमध्ये मुख्य योजनाकार गौरादह नगरपालिका वडा नं २ का ३८ वर्षिय सुमनकुमार कार्की रहेका छन् । उनी पेशाले ठेक्कापट्टा गर्ने गर्थे । बैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा २०७५ बैशाखदेखि २०७७ फागुनसम्म २२ महिना झापा जिल्ला कारागारमा बसी छुटेका कार्कीलाई २०७८ साउन १९ गते ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गौरादह नगरपालिका वडा नं २ स्थित उनकै घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेकोमा उनी भागी फरार भएका थिए । उक्त लागूऔषध मुद्दामा उनीविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भैसकेको थियो । घट्नासम्बन्धी योजना बनाउने तथा भारतमा बसी आर्थिक संकलन गरी आपराधिक गतिबिधि गर्ने गरेको जनाइएको छ । साथै उनको साथबाट हिमाल सुरक्षा परिषदको पर्चा,पम्प्लेट,स्ट्याम्प,चन्दा माग्ने गरेको सिमकार्डहरु र आर्थिक सहयोग गरिदिने बारेको पत्र समेत वरामद भएको डिएसपी बसन्त पाठकले बताए ।उनलाई गौरीगञ्ज गाउपालिका वडा नं ५ स्थित नेपाल– भारत सिमानाको दशगजा क्षेत्रबाट फागुन २ गते प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै सोही गतिविधिमा संलग्न भएको आरोपमा कन्काई नगरपालिका वडा नं ३ का ४१ वर्षिय भिष्म थापा पक्राउ परेका छन् । ट्युबेल गाड्ने पेशा गर्दै आएका थापाले माघ ९ गते विहान ४ बजे समयमा विर्तामोडको पश्चिम बस स्टेण्डमा प्रेसर कुकर बम राखेका थिए । योजनाकारहरुले उनलाई मोटरसाइकल किनिदिने प्रलोभन देखाई शंकास्पद बस्तु प्रेसर कुकर बिर्तामोड पश्चिम बस स्टेण्डमा राख्न अह्राएका थिए । उनले त्यसकोे प्रलोभनमा परी माघ ९ गते बिहान ३ बजे सुरुङ्गाको चारआली चोकबाट साइकलमा उक्त शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको पर्चा पम्प्लेटहरु लिई बिर्तामोडको पश्चिम बस–स्टेण्डमा राखेको अनुसन्धानबाट खुल्न आएको पाठकले बताए ।उनलाई कन्काई न.पा. वडा नं ३ बाट माघ २८ गते पक्राउ गरिएको थियो ।

त्यस्तै दमक न.पा. वडा नं ९, चियादोकान चोक बस्ने ५० वर्षिया देवी बास्कोटा (गुरागाई) पक्राउ परेकी छन् । उनी माघ २९ गते दमक ९ चियादोकान चोकबाट पक्राउ परेकी हुन् । हिमाल सुरक्षा परिषदसंग आवद्ध रही शंकास्पद वस्तु प्रेसर कुकर राख्ने योजनामा संलग्न रही माघ ८ गते केर्खा चोकमा रहेको एक पसलबाट ४ वटा प्रेसर कुकर खरिद गरी मुख्य गिरोहलाई उपलब्ध गराई विष्फोटन गतिविधिमा सहयोग गरेको साथै चन्दा असुल गर्ने कार्यमा समेत उनको संलग्नता देखिएको छ । उनको दमक ९ चियादोकानस्थित घरबाट घटनामा प्रयोग भएको प्रेसर कुकरको कार्टुन,चन्दा माग गर्न प्रयोग भएको मोबाइल तथा समूहको गतिविधिमा शंकास्पद देखिएको चेकहरु समेत बरामद भएको छ ।

त्यस्तै कन्काई नगरपालिका वडा नं ३ घर भई कोटीहोममा पुजारी काम गर्ने ५८ वर्षिय कुमार भन्ने यमदत्त सिटौला पक्राउ परेका छन् । उनले ग्रेटर नेपालको माग राखी शंकास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसी छुटेका एक व्यक्तिसंग मिली हिन्दु राज्य र राजतन्त्र पुनःस्थापनाको माग राखी कोटीहोमस्थित आफ्नो कुटीमा पटक पटक बैठक बसी आफ्नो छिमेकी भिष्म थापा नामका ट्युब–बेल गाड्ने व्यक्तिलाई बम राख्ने कार्य गर्नको लागि मोटरसाइकल किनिदिने प्रलोभन देखाई अह्राएको खुलेको छ । उनलाई कोटीहोमबाट माघ २९ गते पक्राउ गरिएको थियो ।

त्यस्तै सोही गिरोहमा संलग्न शिवसताक्षी वडा नं १ बस्ने ३२ वर्षिय सरुण लिम्बू भन्ने दिलकुमार सामेखाम पक्राउ परेका छन् । उनी विगतमा लागूऔषध मुद्दामा ५ बर्ष कैद सजाय पाई कारागारबाट छुटेका थिए । लिम्बूले हिमाल सुरक्षा परिषद नामक समूहको गतिविधिको लागि झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट चन्दा उठाउने,मनमोहन दाहालबाट रकम लिई भारत बिहार राज्यको अररिया जिल्लास्थित कलियागञ्जसम्म पुगी सो स्थानमा बसी पार्टीको गतिविधि संचालन गर्न रकम उपलब्ध गराई सहयोग पु¥याउँदै आएको खुल्न आएको छ । साथै विर्तामोड र दमकमा शंकास्पद प्रेसर कुकर राख्ने कार्यमा संलग्नता देखिएको छ । उनी कन्काई वडा नं ३ बाट फागुन १ गते पक्राउ परेका थिए ।

त्यस्तै अर्का आरोपी .संखुवासभा खाँदवारी वडा नं १० सित्तलपाटी घर भई हाल सुन्दरहरैचा ६,मोरङ बसोवास गर्ने २९ वर्षिय मनमोहन दाहाल पनि पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका वडा नं ६ बाट उनी फागुन २ गते पक्राउ परेका हुन् । उनले हिन्दु राज्य नेपाल र राजतन्त्र पुनःस्थापनाको माग राखी विर्तामोड पश्चिम बस स्टेण्डमा माघ ९ गते र दमकमा माघ १३ गते प्रेसर कुकर बम राख्ने योजना बनाई संग्लग्न गिरोहलाई रकम समेत उपलब्ध गराएको खुल्न आएको छ ।
त्यस कामको लागि उनले ग्रेटर नेपालको माग राखी २०७६ बैशाख २८ गते माइधारस्थित कन्काई पुलमा बम जस्तो देखिने शंकास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसी छुटेका एक व्यक्तिलाई परिचालन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

त्यस्तै सोही गिरोहमा संलग्न गौरीगञ्ज गाउँपालिका वडा नं ३ बस्ने ३२ वर्षिय आनन्द भन्ने अनन्तप्रसाद गिरी पक्राउ परेका छन् । उनले हिमाल सुरक्षा परिषदको नामबाट विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्न योजना बनाउने,चन्दा माग गर्ने गिरोह भारत विहार राज्यको अररिया जिल्लाको कलियागंज बस्ने गरेकोमा उनले सीमा नाकामा बसी सो गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई माध्यमको भूमिकामा रही सहयोग पु¥याउँदै आएको खुलेको छ । उनलाई फागुन २ गते गौरीगञ्ज गाउँपालिका वडा नं ५ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट पक्राउ गरिएको थियो ।

त्यस्तै पक्राउ पर्ने अर्का व्यक्तिमा गौरादह नगरपालिका वडा नं ५ का ३३ वर्षिय प्रदीप थापा रहेका छन् । हिमाल सुरक्षा परिषदको नामबाट विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्न योजना बनाउने,चन्दा माग गर्ने गिरोह भारत विहार राज्यको अररिया जिल्लाको कल्याणगंज बस्ने गरेकोमा उनले सीमा नाकामा बसी सो गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई माध्यमको भूमिकामा रही सहयोग पु¥याउँदै आएको खुलेको छ । गौरीगञ्ज गाउपालिका वडा नं ५ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट फागुन २ गते उनी पक्राउ परेका थिए ।

त्यस्तै गौरीगन्ज गाउँपालिका वडा न ३ बस्ने ४५ वर्षिय विजयकुमार दास हलुवाइ पनि पक्राउ परेका छन् । उनले हिमाल सुरक्षा परिषदको नाममा अन्य सकृय सदस्यले संकलन गरेको पैसा आइएमईबाट रिसिभ गरी भारतको विहार राज्यको कलियागन्ज बस्दै आएका योजनाकारहरुसम्म पैसा पु¥याउने काम गर्दै आएका थिए । गौरीगन्ज गाउपालिका वडा नम्वर ३ बाट उनी फागुन ३ गते पक्राउ परेका थिए । हिमाल सुरक्षा परिषद संगठित रुपमा आपराधिक गतिबिधि गर्नको लागि बिगतमा गोरखा जनमुक्ति पार्टीको नामबाट आपराधिक गतिबिधि गर्ने समूहले नै कारागारबाट छुटेपछि समूहको नाम परिवर्तन गरी सोही प्रकृतिको आपराधिक कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

उनीहरुबाट ९८२७९४८६१२, ९८१९०२६९२९, ९८१५१८५११६, ९८४२६९४२७५ नम्वर प्रयोग भएका मोवाइल ४ थान , डिए लेखिएको कालो रंगको झोलाभित्र रहेको कालो रंगको प्लाष्टिकको पोकाभित्र हिमाल सुरक्षा परिषद नेपाल ,इन्चार्ज केन्द्रीय कमिटी, इन्चार्ज कोशी अञ्चल कमिटी, अध्यक्ष कोशी अञ्चल कमिटी, अध्यक्ष मेची अञ्चल कमिटी, ईन्चार्ज मेची अञ्चल कमिटी ,हस्ताक्षर मात्र भएको छापहरु १० थान, नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक बुक १ थान, नेपाल बैंक लिमिटेडको चेक बुक १ थान, खोप कार्ड १ थान , एन्सेल सिम १ थान , टेलिकमको सिम १ थान ,पासपोर्ट साइजको पुरुष मानिसको फोटो ५ थान , सोही झोलाभित्र चलानी नम्वर २०७८।०७९ मिति २०७८।१०।२८ गते,हिमाल सुरक्षा परिषद नेपाल लेखिएको पर्चा १ थान , चलानी नम्बर ६६÷१६ लेखिएको लेटर प्याड सो लेटर प्याडमा आर्थिक सहयोग सम्बन्धमा लेखिएको लेटर प्याड ५ थान पत्र संख्या १०३८ मिति २०७८।१०।२८ गतेको हिमाल सुरक्षा परिषद लेखिएको पर्चा १ थान, सुमनकुमार कार्कीको नामको मतदाता परिचय पत्र १ थान, क्लासमेट लेखिएको कपि १ थान बरामद भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्