झापा , फागुन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन् ।

हिजो राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न अनुरोध गरेका हुन् । यसअघि प्रधानमन्त्री देउवाले ओलीलाई एमसीसी पास गराउनका लागि सहकार्य गर्दै आएका थिए । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न हिजो राति ९ बजेतिर पत्नी आरजु राणासहित प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री र ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि यही विषयमा छलफल भयो भन्नेबारे सार्वजनिक गरिएको छैन । तर, भेटमा ओलीले अब सत्ता गठबन्धन कसरी अगाडि बढ्छ ? भनेर जिज्ञासा राखेको उनको सचिवालयले जनाएको छ । एमालेले एमसीसी अनुमोदन गर्ने÷नगर्ने पक्षमा स्पष्ट निर्णय गरिसकेको छैन ।
आज सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएकाले गठबन्धनले के निर्णय गर्छ भन्ने पर्खाइमा एमाले छ । हिजोको बैठकमा पनि सहमति नजुटेपछि गठबन्धनको बैठक आज फेरि बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाले आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी गरे पनि यथास्थितिमा एमसीसीलाई अगाडि नबढाउने माओवादी केन्द्र र एकीकृत समावादी पार्टीले अडान राख्दै आएका छन् । सहमति नगरि एमसीसी अगाडि बढाइए सरकारबाट बाहिरिने माओवादी केन्द्रले चेतावनी दिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन छोडेमा सरकार अल्पमतमा पर्ने भएकाले प्रधानमन्त्री देउवाले एमालेसँगको सहकार्यका लागि छलफल चलाएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्