झापा , फागुन ६ । प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका कर्मचारीहरु आज विहान हातमा झाडु बोकेर जिल्ला प्रशासन कार्यालयबाट निस्के।

उनीहरु सम्पूणर् कार्यालय आसपासका क्षेत्रमा सरसफाई गर्दै सदरमुकाममै रहेको महेन्द्र पार्क पुगे । पार्कभित्रै पस्ने वित्तिकै कोही फोहोर टिप्ने थाले त कोही प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगै फूलबारी गोड्न । सँगै रहेका जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल उपप्रमुख मिना पराजुली, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ समेत पार्कको सरसफाईमा सरिक भए । पार्कमा रहेको पुरानो महेन्द्रको शालिक रहेका स्थानमा रंगरोगनसहित राष्ट्रिय झण्डा राख्न तयारी भइरहेको नगरप्रमुख श्रेष्ठले सबैलाई जानकारी गराए । पार्कमा रहेको फोहोर मैला सरसफाईमा सशस्त्र प्रहरी २ नम्बर हेडक्वारका प्रहरी उपरीक्षक प्रेम कार्की, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णुमणि पोखरेललगायत प्रहरी टोली नै लिएर उपस्थित भएका थिए । प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैठौ निर्वाचन दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरेर महेन्द्र पार्कलगायत सरकारी कार्यालय आसपासका क्षेत्र सरसफाई गरिएको हो । सरसफाई कार्यक्रमपछि जिल्ला समन्वय समितिको कार्यालय परिसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो । जिसस प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षमा भएको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन कार्यालयका प्रमुखले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्