झापा , फागुन ७ । प्रदेश १ को विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिका–३ स्थित फिक्कल–पशुपतिनगर सडकखण्डमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१ का २३ वर्षीय सौगात राई रहेका छन् । शुक्रवार बेलुका साढे ४ बजे पशुपतिनगरतर्फ जाँदै गरेको को १ ज ३५८९ नम्बरको बोलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सौगात राई र पछाडि सवार रहेकी २५ बर्षीया सम्झना राई घाइते भएका थिए ।
घाइते दुबैलाई उपचारको लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल ल्याइएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी सुनसरी र मोरङको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना चालकको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका–८ स्थित कोशी लोकमार्गमा को २० प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर–१४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।

त्यस्तै मोरङको जहदा गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा सडक छेउमा राखेको गोरु गाडामा को ३५ प ३४०५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर–१९ का २६ वर्षीय लक्ष्मी सरदार गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि कोशी अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको थियो । दुर्घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्