बिर्तामोड, फागुन ७ । झापा चारआलीमा रहेको नयाँ श्रीनाथ गणका प्रमुख सेनानी(कर्णेल) अमरजंग थापालाई सामूहिक सम्मानसहित विदाइ गरिएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको अगवाईमा अतिथि सदनमा आज बिहान आयोजित कार्यक्रममा तीन दर्जन सामाजिक संघसंस्थाले सामूहिक सम्मानसहित विदाइ गरेका हुन् । प्रमुख सेनानी थापालाई एकका लागि एक अभियान, बिर्तामोड उद्योग वाणिज्य संघ, नेपाल सुनचाँदी व्यवसायी संघ झापा, झापा गोल्डकप, वीरता जेसीज, छठ समाज सेवा समिति बिर्तामोड, नेपाल दशनामी समाज झापा, युनिकम नेपाललगायत सामाजिक संघसंस्थाले सम्मानपत्र प्रदान गरेका थिए ।

वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा एकका लागि एक अभियानका संयोजक तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए । सम्मानपत्र युनिकम नेपालका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले वाचन गरेका थिए । प्रमुख सेनानी थापा नेतृत्वको गण शिवपुरी जाने भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्