झापा , फागुन ९ । क्षितिज नाट्य प्रतिष्ठान प्रदेश नं.१ का केन्द्रीय सदस्य बिर्तामोड –२ निवासी समिन खतिवडाले अब आफ्नो नाम अगाडि ईञ्जिनियर मात्र लेख्नै हैन, डिन लिष्टको राष्ट्रिय उपाधि समेत हात पार्न सफल भएका छन् ।

पोखरा विश्वविद्यालयमा आइतबार आयोजित दिक्षान्त कार्यक्रमबाट उनलाई यो उपाधि प्रदान गरिएको हो । बिर्तामोड –२ चारपानेमा रहेको बालकल्याण आवासीय माध्यमिक विद्यालयबाट २०७० सालमा एसएलसी उत्तीर्ण गरी जेभियर उच्च मावि काठमाडौबाट प्लस टु उत्तीर्ण गरेका समिन खतिवडा त्यसपछि उच्च शिक्षाका लागि पोखरा विश्वविद्यालयको सिभिल ईञ्जिनियरिङ बिधामा भर्ना भए । झापाली युवा रंगकर्मी माधव कल्पित र चलचित्रकर्मी सुजना खतिवडाका सुपुत्र समिन बाबाआमाको पेशासंगै फरक बिधाको अध्ययनमा देखिए पनि उनलाई ईञ्जिनियरिङ जस्तो महँगो शिक्षा हासिल गर्न परिवारले कुनै आर्थिक भार बेहोर्नु नपरेको उनका पिता माधब कल्पितको भनाइ छ ।

छात्रबृतिमा पहिलोपटक नाम निकालेका समिन खतिवडाले हरेक सेमिस्टारमा नेपाल टप गरेसंगै उनको पढाइमा अझ हौसला र प्रेरणा बढ्दै गयो । चार बर्षको दोरानमा ईञ्जिनियरिङ सक्न करिव १६ लाख खर्च गर्नुपर्नेमा उनले उल्टै त्योभन्दा बढी कमाउन सफल भएको आमा सुजना बताउँछिन् । बाल्यकालदेखि नै कला साहित्य र रचनात्मक कार्यमा बढी रुची राख्ने समिन खतिवडाले नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रृंखला ‘कुरा अर्को छ’ र ‘बिहानी’मा सञ्चारकर्मीको भूमिका निर्वाह गरेका छन् ।

पढाइमा तिक्ष्ण क्षमता भएका उनी घरायसी काममा समेत उतिकै निपुण छन् । खाना पकाउन,घरको सरसफाइ गर्न, भाँडा माझ्न, लुगाकपडा धुनदेखि करेसाबारीमा सागसब्जी लगाउन समेत उनलाई कसैले अह्राउनु पर्दैन । ‘घरमा छोरा आउँदा इञ्जिनियर हैन, एक संस्कारयुक्त बुहारी आएको महसुस हुन्छ’ आमा सुजना भन्छिन् । बाआमाको हात गोडामा तेल लगाएर हरेक साँझ मालिस गर्नदेखि साथीभाइ आउँदा खाना पकाएर खुवाउन समेत उसलाई कसैले अह्राउनु पर्दैन । ‘कागजी शिक्षाभन्दा बढी छोरा समिनसंग संस्कार छ । सायद असल शिक्षाबाट पाउने समुन्नत संस्कारकै प्रतिफल हुन सक्छ यो उनले प्राप्त गरेको राष्ट्रिय उपाधि’ रङ्गकर्ममा आफ्नो सिङ्गो जीवन समर्पण गरेर पछिल्लो समय प्रदेश न.१ कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणमा जुटेका उनका पिता माधब कल्पित बताउँछन् ।

कल्पित दम्पतीका दुई सन्तानमध्ये छोरी समीक्षा प्रथम मीस मेची तथा मिस ग्राण्ड झापा –२०१६ को विनर बन्न सफल भइन् । हाल उनी कनकाई नगरपालिका वडा न.४ को स्वास्थ्य प्रमुख भएर काम गरिरहेकी छन् भने छोरा समिनले इञ्जिनियर बिधाबाट राष्ट्रिय उपाधि हात पार्न सफल भएका हुन् । छोराछोरीलाई डाक्टर र ईञ्जिनियर बनाउने हरेक बाआमाको सपना भएपनि कतिको साकार हुन्छ कति अधुरै रहन्छ । जे होस् कल्पित दम्पतीको भने दुवै सपना साकार भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्