झापा, फागुन १२ । उदयपुरको त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार राति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा चौधरीले चलाएको मोटरसाइकलले त्रियुगा नगरपालिका-५ कुमारी चोकका ५० वर्षीय रामचन्द्र चौधरीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिकाले उपलब्ध गराएको होन्डा कम्पनीको सिबी युनिकर्न सरकारी नम्बर प्लेटका मोटरसाइकल स १ ब ८९७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । वडाध्यक्ष चौधरीले चलाएका मोटरसाइकलको ठक्करबाट मृतक चौधरी सडकबाट एक सय मिटर तल उछिट्टिएका थिए ।मोटरसाइकलले सडक किरानाको विद्युतको पोलसमेत क्षतिग्रस्त बनाएको छ । दुर्घटनामा वडाध्यक्ष चौधरीसमेत गम्भीर घाइते भएका छन् ।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । मृतक चौधरीको सडक किनारामा घर भएकाले राति पिसाब फेर्न बाहिर निस्कने क्रममा दुर्घटना भएको जनाएका छन् । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै गाईघाट कदमा खण्डको सडक बिहान तीन घन्टा अवरुद्ध बनाएका थिए । बिहान ७ देखि १० बजेसम्म सडक अवरुद्ध हुँदा गाईघाटबाट बाहिर जाने सवारी साधन सबै रोकिएको थियो । सडक अवरुद्धपछि सर्वपक्षीय छलफलले मृतकलाई कानुनबमोजिम क्षतिपूर्ति दिने र परिवारका सदस्यलाई जागिर लगाइदिने सहमति भएपछि बाटो खुलेको छ । चौधरीको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्