झापा , फागुन १३ । मोरङको लेटाङ नगरपालिका-८ मा लालहिरा सामुदायिक वनभित्र १२ वर्षीय बालिकाको शव फेला परेको छ ।

लेटाङ-८, ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार शव नग्न अवस्थामा फेला परेको हो । प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको उनले जानकारी दिए । प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा राई बुधबार दिउँसो ४ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले शव फेला पारेको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप भन्न सकिने डीएसपी मुकारुङले बताए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुई जना पुरुषलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्