झापा , फागुन १३ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बिर्तामोडमा नेकपा माओवादी केन्द्रभित्र पहिरो गएको छ । पार्टीको गलत गतिविधिप्रति असन्तुष्टि जनाउँदै जिल्लास्तरका नेतासहित करिव दुई सयजनाले सामूहिक पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनीहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गरी पूर्व नेकपा माओवादीबाट नेकपा हुँदै पुनः नेकपा माओवादी केन्द्रमा रही विभिन्न तहतप्कामा जिम्मेवारी बहन गर्दै गरेको अवस्थामा हाल पार्टीको सांगठनिक गतिविधिप्रति बिमति राख्दै आजका मितिदेखि साधारण सदस्य समेत नरहेको जानकारी गराएका छन् । विज्ञप्तिमार्फत पार्टी परित्याग गर्नेहरुमा जिल्ला सदस्य तथा बिर्तामोडका पूर्व नगर अध्यक्ष ठगबहादुर खड्का ,नगरका जिम्मेवार नेताहरु शिवकुमार कन्दङ्वा , मोहन उप्रेती , विपिन कोइराला , डिल्लीराम बाँस्कोटा , जानुका थापा मगर , जयराम कोइराला , प्रशान्त राजवंशी , खगेन्द्र खरेल , पृथ्वी न्यौपाने , इन्द्र खतिवडा , जीवनकुमारी श्रेष्ठलगायत १९७ जना रहेका छन् ।

माओवादी पार्टी बन्दुकेहरुको मात्र भएको उनीहरुको ठम्याइ रहेको छ । २०५२ सालदेखि माओवादीमा संलग्न जिल्ला सदस्य ठगबहादुर खड्काले पार्टीमा आफूहरुको अस्तित्व स्वीकार नगरेकाले सामूहिक रुपमा पार्टी परित्यााग गरेको बताए ।

‘भूमिगतबाट आएका माओवादी कार्यकर्ताहरुले आफूहरुलाई जहिल्यै दोस्रो दर्जाको कार्यकर्ता हेर्ने गरेका कारण पार्टी छोड्नु पर्यो’ उनले भने,‘आफूहरु कुदेर गल्यौं ।’ त्यसैगरी पार्टी परित्याग गर्ने जानुका थापा मगरले पार्टीमा स्थानीयलाई प्राथमिकता नदिएको गुनासो गरिन् । उनले दुईजना समेत जनाधार नभएको बन्दुकेहरुको पार्टीमा हालीमुहाली भएको आरोप लगाइन् । ‘ नेकपा हुँदा राम्रै लागेको थियो, अब सुध्रिन्छन् कि जस्तो लागेको थियो ’उनले भनिन् ,‘तर , हामीलाई हलीजस्तो व्यवहार गरिरहे ।’ आफूहरुले बिर्तामोडमा १३ सय नयाँ सदस्य बनाएको उनको भनाइ छ । गत स्थानीय निर्वाचनमा माओवादी पार्टीले चौथो स्थान हासिल गरेको थियो । कार्यकर्तामा यसरी असन्तुष्टि बढ्दै गएपछि अबको निर्वाचनमा पार्टी अझ खस्किने देखिएको छ ।

पार्टीभित्र तीब्र हानथाप
नेकपा माओवादी केन्द्र बिर्तामोडको दोस्रो नगर अधिवेशन मंसीर १६ गते उद्घाटन भएको थियो । तर, तीन महिना बित्नलाग्दा समेत पार्टीको नगर कमिटी बन्न सकेको छैन । नगर अध्यक्ष पदका लागि एकभन्दा धेरै आकांक्षी देखिएपछि पटकपटकको सहमतिको प्रयास निरर्थक बनेको हो ।
नगर अध्यक्षका लागि शुरुमा युवराज दाहाल , ठगबहादुर खड्का र मोहन सुब्बाले दावी गरेका थिए ।तर , पछि खड्काले दावी छोडे । स्थानीय भएको हिसाबले जनाधार मोहन सुब्बाको पक्षमा भएपनि पार्टी नेतृवले युवराज दाहाललाई काखी च्यापेको थियो । त्यसकारण पनि नगरको नेतृत्व चयन हुन नसकेको बताइएको छ ।

यसैबीच प्रदेश कमिटीले पार्टीको बिर्तामोड नगर इन्चार्जमा दाहाललाई चयन गरेपछि कार्यकर्ताहरुमा असन्तुष्टि अझ बढेर गएको हो । दुई वर्षअघि बिर्तामोड आएका दाहालले पैसा र पावरको भरमा पार्टी कब्जा गरेको र त्यसमा जिल्ला नेतृत्वहरुले साथ दिएको कार्यकर्ताहरुको गुनासो छ ।नेकपा विघटनपछि पूर्व माओवादी कार्यकर्ताहरुको ठूलो हिस्सा साविक पार्टीमा नफर्किदा माओवादी केन्द्रलाई निकै धक्का लागेको थियो । त्यसमा पार्टीमै रहेका अरु नेताकार्यकर्ताले समेत पार्टी छोड्दै गर्दा अबको स्थानीय निर्वाचनमा उपस्थिति झनै कमजोर बन्ने देखिएको छ ।

१ प्रतिक्रिया

  1. न्युज तोडमोड गरिएको छ बास्तबिकता भन्दा फरक बनाइयो । बिर्तामोड माआेवादी लाल भूमी हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्