बिर्तामोड,फागुन १६ । बिर्तामोड ५ स्थित कृषि थोक बजारको आफ्नै नीतिनियम छ । त्यस नीतिनियमलाई एकजना व्यापारीले धज्जी उडाएका छन् ।

राजाबुलले खोलेको मासु पसल

स्थानीय व्यापारी महमद राजाबुल शेखले कृषि थोक बजार व्यवस्थापन समितिले बनाएको नीतिनियमविपरित व्यवस्थापन समितिले भनेको कुरासमेत अटेर गरी खुद्रा सब्जी लाइनमा मासु पसल संचालन गरेका छन् । करिव एक महिनादेखि उनले सब्जी लाइनमा कुखुराको मासु पसल संचालन गरेका हुन् । त्यसरी नियम मिचेर राजाबुलले आफूखुशी गर्दा त्यसको तीब्र विरोध भइरहेको छ । कृषि थोक बजार व्यवस्थापन समितिले मासु पसल बन्द गर्न पटकपटक निर्देशन दिइसकेको छ । तर , राजाबुलले दादागिरी शैलीमा कसैलाई वास्ता नगरी सब्जी लाइनमा मासु पसल नै संचालन गरिरहेका छन् । समितिले भनेपछि बन्द गर्ने अनि फेरि पसल खोल्ने उनको व्यवहारले बजार समितिको नीतिनियम कार्यान्वयनमा समस्या भएको छ । उनले सम्पूर्ण व्यापारी र बजार समितिलाई ठाडो चुनौती दिएका छन् ।

व्यापारीहरुले दिएको उजुरी

राजाबुलले बजार व्यवस्थापन समितिकी सदस्य ज्योति खतिवडासंग सो पसल लिएका हुन् । ज्योतिका छोरा सागर रोक्काको नाममा सेक्टर ‘डी’को १६ नं स्टल खुद्रा सब्जी पसलको रुपमा दर्ता रहेको छ । सोही सब्जी पसल राजाबुलले लिएर मासु पसल खोलेका हुन् । ज्योति खतिवडाले आफूले भाडामा दिएको बताएकी छन् । राजाबुलले नियमविपरित संचालन गरेको मासु पसल बन्द गराई नियमसम्मत पसल संचालन गर्न लगाउन १४ जना व्यापारीहरुले उजुरी दिएका छन् । तर , त्यसउपर अहिलेसम्म कार्वाही भएको छैन ।

कृषि थोक बजारमा सटर र स्टल गरी ३२८ वटा रहेका छन् । त्यसलाई ५ वटा सेक्टरमा विभाजन गरिएको छ । सेक्टर ‘ए’ मा खुद्रा फलफूल , सेक्टर ‘बी’ मा दलहन र तेलहन ,सेक्टर ‘सी’ मा मासु पसल , सेक्टर ‘डी’ मा खुद्रा सब्जी र सेक्टर ‘ई’ मा थोक सब्जी भनेर छुट्याइएको छ । त्यस सेक्टरको नियमलाई राजाबुलले मिचेका हुन् । स्टल बिक्री गर्ने ज्योति खतिवडाले आफ्ना छोरा सागर रोक्काको नाममा दर्ता रहेको सो स्टल सब्जी पसलकै लागि भनेर राजाबुललाई दिएको बताइन् । राजाबुलले सेक्टर ‘सी’ को स्टल नं ११ मा कुखुराको मासु पसल यसअघिदेखि संचालन गर्दै आएका छन् । एउटा पसल हुँदाहुँदै नियमविपरित उनले अर्को पसल खोलेका हुन् । त्यसो त ,उनको परिवारका सदस्यहरुले बिर्तामोडको कृषि थोक बजारमा ५ वटा पसल संचालन गरिरहेको जनाइएको छ ।

राजाबुलले अर्काको नाममा दर्ता रहेको सब्जी पसलमा मासु पसल खोलेपछि कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले तीब्र विरोध जनाएका छन् । उनले जसको नाममा पसल छ , उसैले संचालन गर्नुपर्ने नियमविपरित सब्जीको ठाउँमा खोलिएको मासु पसलप्रति आफूहरुको ठूलो विमति रहेको बताए । ‘हामीले राजाबुललाई भनिसकेका छौं बन्द गर्न ’उनले भने ,‘अझै अटेर गरे भने हामी आफै बन्द गराउँछौं ।’ तीन–चार दिनपछि त्यो कार्वाहीमा आफूहरु जाने उनले जानकारी दिए । यसरी नियम मिचेर सब्जीको ठाउँमा मासु पसल खोल्ने राजाबुलले भने सब्जी पसल नचलेपछि मासु लाइनको छेउमा भएकाले आफूले मासु पसल खोलेको प्रतिक्रिया दिएका छन् । ‘मैले सेक्टर परिवर्तनको लागि समितिमा निवेदन दिएको छु’उनले भने । संझौता एक प्रकारको भएपनि अर्को प्रकारको पसल अन्यले पनि गरिरहेको उनले दावी गरेका छन् । अरुले चोर्यो भन्दैमा आफूले पनि चोर्न पाउनु पर्छ भन्ने राजाबुलको दावी सरासर गलत भएको एक व्यापारीले बताए ।

बिर्तामोडको कृषि थोक बजारभित्र धेरै बेथिति रहेका छन् । संचालक समितिकै सदस्यहरुले सटर र स्टल आफ्नो नाममा दर्ता गरेर महँगो दाममा बिक्री गर्ने गरेको पाइएको छ । संचालक समितिका सदस्यहरु ज्योति खतिवडाको नाममा सेक्टर डीको १ नम्बर स्टल , खगेन्द्र महतोको नाममा सेक्टर ईको स्टल नं १८ दर्ता रहेको छ ।

त्यस्तै बजारमा व्यापारीहरुले आफूखुशी सटर किनबेच गर्ने प्रवृति बढ्दै गएको छ ।
नाफा खाएर दलालीहरुले सटर किनबेच गरिरहँदा कृषि बजार संचालक समिति भने अनभिज्ञ छ । एउटै व्यापारीको परिवारका पाँचजनाले समेत सटर पाएका छन् । संझौता एकजनाले गरेका छन् , व्यवसाय अर्कैले संचालन गरिरहेका छन् । कतिपय सटरमा बिनासंझौता व्यवसाय गरिरहेको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्