पथरीशनिश्चरे, फागुन १८ । मोरङको पथरीशनिश्चरे नगरमा फागुन २८ गतेदेखि एक सातासम्म घर –घरमा पुगेर हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ ।

फागुन २८ गतेदेखि चैत ४ गतेसम्मको एक साता अवधिमा घर–घरमा पुगेर हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको हो ।

बुधबार नगरपालिका कार्यालयमा आयोजित ‘पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी’मा औषधि सेवनका लागि योजना तय गर्न र कार्यक्रमलाई प्रभावकारी बनाउन सबै वडामा जनचेतना तथा प्रचारप्रसार कार्यक्रम गर्ने निर्णय भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ११ औं चरणको हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन अभियानका रुपमा नगरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकामार्फत औषधि सेवन गराइने छ । नगर प्रमुख दिलीपकुमार राईले औषधि अनिवार्य रुपमा सेवन गर्नका लागि सबै पक्षको प्रचारात्मक अभियानसहितको सहकार्यले हात्तीपाइले रोगलाई निर्मूल गर्न सकिने भएकाले सबैलाई यो अभियानमा सामेल हुन आग्रह गरेका छन् । औषधि सेवनमा कोहि छुटेमा उनीहरुबाटै पुनः रोग सर्ने भएकाले अभियानमा सवै सामेल हुनुपर्ने जोड दिए ।

फागुन १९ देखि नै वडास्तरीय सचेतना तथा प्रचारात्मक कार्यक्रम थालिने र अभियानमा खटिने स्वास्थ्यकर्मीलाई विहीवार र शुक्रबार तालिम प्रदान गर्ने निर्णय भएको छ । औषधि कम सेवन भएको क्षेत्रको पहिचान गर्नुका साथै महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम, विद्यालय शिक्षा, पत्रकार सम्मेलन गरेर प्रचारप्रसारलाई व्यापक बनाइने स्वास्थ्य शाखाका प्राविधिक एकराज खत्रीले बताए ।

क्युलेक्स जातको पोथी लामुखट्टेबाट सर्ने सो रोगविरुद्ध यस वर्षदेखि लगातार ३ वर्षसम्म थप औषधिसहितको आइडीए औषधि सेवन विधिको क्रम सुरु भएको जनाइएको छ । गर्भवती महिला, ७ दिन भित्रको सुत्केरी, २ वर्षसम्मका बालबालिका, ओछ्यान परेका विरामी, छारे रोगका विरामीबाहेक सवैले सो औषधि सेवन गर्न मिल्ने जानकारी गराइएको छ ।

स्वास्थ्य शाखाका जगतप्रसाद मगरले हात्तीपाइले रोगको जानकारीसहित सहजीकरण गरेको कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव शालिग्राम काफ्लेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाध्यक्ष, ज्येष्ठ नागरिक, अस्पताल संचालक, शिक्षक संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकाय र स्वास्थ्य शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्