बिर्तामोड , फागुन २१ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले डोमालाल राजवंशी रंगशालाको नाम अर्को नफेरिने बताएका छन् ।

पाँचौं झापा गोल्डकपको उद्घाटन गर्दै प्रमुख अतिथि ओलीले त्यस्तो आश्वासन दिएका हुन् । उनले उद्घाटन मन्तव्य दिँदै भने ,‘यो रंगशालाको नाम डोमालाल राजवंशी रंगशाला हो , यसको नाम अर्को हुँदैन । डोमालाल नै हुनुपर्छ र रहन्छ पनि ।’

उनले आदिवासी समुदायका डोमालाल राजवंशीले दान दिएको जग्गा जालझेल गरेर भूमाफियाहरुले आफ्नो हात पारिसकेको अबस्थामा अग्नी खरेललगायतको प्रयासमा आंशिक रुपमा फर्काउन सफल भएको बताए । उनले डोमालालको १२ विघा जग्गामध्ये ४ विघा फर्काइएको जानकारी दिए । बाँकी जग्गा पनि फर्काउने प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले जग्गा हत्याउनेहरुले फिर्ता नगरे कानूनी तवरले फिर्ता गराउने चेतावनी दिए ।

झापा दमकको लखनपुरमा रहेको आदिवासी रंगशालाको नाम शुरुमा आदिवासी रंगशाला राखिएको थियो । त्यही नामबाट त्यसबेला रक्षामन्त्री रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सो रंगशालाको शिलान्यास गरेकी थिइन् । तर , ओली नेतृत्वको सरकारले त्यस रंगशालाको नाम परिवर्तन गरी मदन भण्डारी रंगशाला राख्न खोज्दा विवाद भएको थियो । स्थानीयले विरोध गरेपछि ओली सरकारले त्यहाँको बजेट हंसेदुम्से वनमा लगेर अर्को रंगशाला निर्माण गरिरहेको छ । त्यही आदिवासी रंगशालालाई इंगित गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूले झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न खोज्दा केहीले व्यवधान खडा गरेको दावी गरे । ‘ अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न खोज्दा केहीले व्यवधान खडा गरे ’उनले भने ,‘ युवाहरुलाई लाठीचार्ज गरेर , गिरफ्तार गरेर , घाइते बनाएर रंगशाला बनाउन सकिदैन । ’

झापा गोल्डकपका सदस्य रहेका ओलीले चुनावपछि आफूले डोमालाल राजवंशी रंगशालाको प्याराफिट निर्मांण गरिदिने प्रतिवद्धता जनाए । दर्शकहरुसंग बसेर उनले सातदोबाटो र जावलाखेलबीचको उद्घाटन खेल हेरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्