सोलुखुम्बु , फागुन २३ । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको एक सामुदायिक वनमा गएरातिदेखि भीषण आगलागी भइरहेको छ ।

आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले बताएका छन् । भीर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकोप्टर झिकाइएको खुम्बु पासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले जानकारी दिइन् । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौंबाट सिम्रीक एयरको हेलिकोप्टर उडिसकेको बताइएको छ । आपूm काठमाडौमा भएको र आज बिहान मात्रै आगलागीको खबर प्राप्त भएकाले नियन्त्रणमा समय लागेको बताइन् । लुक्ला नजिकैको नक्चुङ भन्ने स्थानको वनमा लागेको आगोको धुँवाका कारण सोमबार बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिइन । प्रमुख अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि बन्द गरिएको हो। अहिले हावाका कारण धुवाँ अन्यत्र गएकाले उडान भइरहेको उनको भनाइ छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलिदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले बताए । आगोका कारण सल्ला, उत्तिस लगायतका अन्य विभिन्न प्रजातिका बोटबिरुवाहरू धेरै मात्रामा नष्ट भइसकेको बताएको छ । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीको विषयमा कुनैपनि जानकारी नभएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्