झापा , फागुन २३ । ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा थुनिएको भालुलाई पाँच दिनपछि सोमबार सुरक्षित वासस्थानमा फर्काइएको छ ।

प्रसूति कक्षबाट चार दिनपछि उद्धार गरी डिभिजन वन कार्यालयमा लगेर फलामे खोरमा राखिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत गत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले भालुलाई लठ्याउन सुइ लगाएर अस्पतालबाट डिभिवन वन कार्यालय परिसर पुर्‍याएको थियो । तीन प्रकारका औषधि मिश्रण गरी भालुलाई बेहोस बनाएर अस्पतालबाट डिभिजन वन कार्यालय लैजान सफल भएको रिजालले बताए । प्रविधिकका अनुसार वयस्क भालु करिब ७० किलोग्राम तौल र पाँच फिट लम्बाइको रहेको छ । बेहोस अवस्थामा रहेको भालु पुनः साविककै प्रक्रियामा फर्कन करिब एक घण्टा समय लाग्ने भएको र त्यसपछि उसको व्यवहार र प्रस्तुतिका आधारमा थप निणर्य लिने राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्र चितवनबाट आएको टोलीले जनाएको छ । गत बिहीवार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाई अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसूति कक्षको खाली कोठामा थुन्न सफल भएका थियो। डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सबडिभिजन कार्यालयमा वन्यजन्तु विशेषज्ञ नभएको अवस्थामा चितवनबाट प्राविधिक झिकाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्