बिर्तामोड , फागुन २५ । बिर्तामोड नगरपालिका वडा नं. ५ का टोल विकास संस्थाहरुको एकदिने क्षमता विकास अभिबृद्धि तथा अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ५ को सहयोग तथा सगरमाथा सामाजिक सेवा केन्द्र, बिर्तामोड झापाको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा ५७ जना सहभागी थिए ।
सगरमाथा सामाजिक सेवा केन्द्र, बिर्तामोड ३ झापाका अध्यक्ष भीष्म उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेको विशेष आतिथ्यता, वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, कार्यपालिका सदस्यद्वय भावना आचार्य घिमिरे , सुरेन राजवंशी, वडा सदस्यहरु ढाँचाराम कडरीया, लक्ष्मीप्रसाद बाँस्कोटा, हर्कमाया वि.क.लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य हर्कमाया वि.क.ले स्वागत गरेकी थिइन् । उद्घाटन सत्र र सहजीकरण सत्र गरी २ सत्रमा कार्यक्रम विभाजन गरिएको थियो । संस्थाका सचिव अर्जुनकुमार पाठकद्वारा सञ्चालन गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले गरेका थिए ।
बिहान ८ बजेबाट शुरु भएको उद्घाटन सत्र १०ः३० बजेसम्म चलेको थियो । कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी , प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने ,वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन सत्रको समापनपश्चात् सहजीकरण सत्र शुरु भएको थियो । दिनको २ बजेसम्म भएको सहजीकरण सत्रको सहजीकरण विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक फणिन्द्रप्रसाद दाहाल र बिर्तामोड नगरपालिका प्रकाशकुमार गुप्ताले गरेका थिए ।