झापा , फागुन २७ । दमक नगरपालिकामा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ ।

फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रा.लि.ले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए । उनका अनुसार फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मलसमेत उत्पादन हुने भएको छ । कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फोहोरबाट ऊर्जा अन्तर्गत ग्याँस, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोणर् थापाले बताए । यसका लागि दमक-३ मा हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ । नगरको फोहोर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ । यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्यांकीमा हालेर १५ दिनसम्म कुहिन्छ । यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्याँस उत्पादन हुने र उत्पादन भएको ग्याँसलाई प्रशोधन गरी ग्याँस पाइप अर्थात् सिलिण्डरमार्फत वितरण गरिने छ । बाँकी कुहिएको फोहोरबाट प्राङ्गारिक मल उत्पादन गरिन्छ भने यहाँ जमेको तरल पदार्थबाट झोल प्राङ्गारिक मल उत्पादन गरिने कम्पनीका प्रबन्धक निर्देशक खतिवडाले बताए ।

उनका अनुसार प्रशोधनका लागि २२ मिटर चौडाइ र आठ दशमलब पाँच मिटर उचाइ भएको विशाल पक्की ट्यांकी निर्माण भइरहेको छ । यहाँबाट दैनिक एक हजार ८४ किलोग्राम बायोग्याँस उत्पादन गर्न सकिन्छ । यस्तै‚ दैनिक १० हजार किलोग्राम प्राङ्गारिक मल तथा करिब सात हजार ५०० लिटर झोल मल उत्पादन गर्न सकिने दमक न.पा.का फोहोर व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए । संरचना निर्माणमा कुल २० करोड ५८ लाख ९७ हजार रूपैयाँ लागत रहेको छ । यसमा लागत सहभागिता १४ करोड ७० लाख रूपैयाँ बढी नेक्स्ट इरा इनर्जी प्रा.लि/रोहन ट्रेर्डस प्रा.लि जेभीको र बाँकी पाँच करोड आठ लाख रूपैयाँ बढी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रहेको जनाइएको छ । जेभीले २०७७ माघ १० गते सम्झौता गरेको थियो । दमक क्षेत्रमा दैनिकजसो २० टन फोहोर उत्पादन हुने गरेको छ भने १५ टन फोहोर संकलन हुँदै आएको छ । जसमध्ये दमक क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फोहोर रहने गरेको छ । कागज तथा कागजजन्य ६ दशमलव ५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य पाँच दशमलव ३७ प्रतिशत फोहोर निस्किने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्