झापा , फागुन २९ । पाँचथर जिल्लामा पहिरो पीडितको स्थानान्त्रणका लागि पाँचथरको फालेलुङ-३ माङलेबुङमा निर्माण गरिएको एकीकृत नमुना बस्ती निर्माण भएको चार वर्षसम्म प्रयोगमा आएको छैन ।

प्रदेश र स्थानीय सरकारको झन्डै एक करोड रुपैयाँ लागतमा एकीकृत नमुना बस्तीमा चर्पी र खानेपानीजस्ता आधारभूत बस्तु नहुँदा प्रयोगमा आउन नसकेको हो । २०७४ को असारमा गएको पहिरोमा विस्थापित भएकालाई राख्नका लागि २०७५ मा यो बस्ती निर्माण भएको थियो । निर्माणपूर्व लगत तयार गर्दा बस्तीका लागि अत्यावश्य चर्पी, खानेपानी र विद्युतका पूर्वाधार छुटाएकोले यो बस्ती हस्तान्तरण हुन नसकेको हो । ‘प्राविधिकले ‘प्राविधिक इस्टिमेट’ मा चर्पी र खानेपानीका धारा बनाउने योजना छुटाइनदिदा बस्ती प्रयोगमा ल्याउन नसकिएको वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए । उनका अनुसार पहिरो गएलगत्तै गाउँपालिकाले आफ्नै प्राविधिकलाई लागत इस्टिमेट गराएर बस्ती निर्माणको योजना अगाडी बढाएको थियो । पहिलो चरणमा पहिरोबाट अति प्रभावित मध्ये १५ परिवारलाई स्थानान्तरण गर्ने योजना अनुसार प्रदेश सरकारको ५० लाख र गााउँपालिकाको २९ लाख गरी ८० लाख रुपैयाँ रकम खर्चेर बस्ती बनाइएको हो । १५ परिवार राख्न मिल्ने प्रत्येक घरमा भान्सासहित तीन-तीनवटा कोठा छन् ।

हस्तान्त्रणमा ढिलाइ हुँदा बस्तीलाई झाडीले छोपेको छ भने झ्याल ढोका भत्किन थालेका छन् । घर र सिकुवामा गरिएको प्लस्टरसमेत उक्किएको छ । बस्तीलाई पूणर्ता दिने कार्यक्रम प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा नपरेकाले यो अवस्था आएको बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम राईले बताए  । बस्ती हस्तान्त्रण हुन नसक्दा पहिरो पीडित भने चार वर्षदेखि अस्थायी छाप्रोमै बसिरहेका छन् । ‘हिउँदमा चिसो र वर्षामा हिलोसँग पैठेजोरी खेल्दै रात काट्छौं,’ पीडित लीला राईले बताइन् । २०७४ असार तेस्रो साताको अविरल वर्षासँगै गएको पहिरोमा परी घरबारविहीन भएका लीला जस्तै ३० परिवार अस्थायी छाप्रामा छन् । ‘पहिरो गएलगत्तै निर्माण सुरु हुँदा नयाँ घरमा सर्न पाइने भयो भनेर खुसी भयौं, हेर्दाहेर्दा ती घर थोत्रा भइसके अब त आश नै मरिसक्यो,’ राईले बताउँछिन् । पहिरोमा पर्दा फालेलुङ गाउँपालिकाका ३ जनाको ज्यान गएको थियो भने ४५ परिवार विस्थापित भएका थिए । गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ प्राविधिक इस्टिमेट तयार पार्ने प्राविधिकको त्रुटिले बस्ती प्रयोगमा ल्याउन नसकेको बताए । ‘थप पूर्वाधार निर्माण गर्ने योजना बनाउँदै छौं,’ उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्