राजगढ, फागुन ३० । बाह्रदशी गाउँपालिकाको १ नं वडा कार्यालय सोमवारदेखि आफ्नै भवनमा सरेको छ ।

बाह्रदशी गाउँपालिकाको बजेटबाट नवनिर्मित भवनमा वडा कार्यालय सरेको हो । गाउँपालिकाको ४६ लाख ६७ हजार ९७६ रुपैयाँको लागतमा ६ कोठे सो भवन निर्माण भएको थियोे ।

ठेक्का पाएको टीबीएस कन्स्ट्रक्सन प्रालिले २०७७ फागुन २० गते संझौता गरेको थियो । २०७८ असार ३० गतेसम्म म्याद रहेकोमा त्यस अवधिभित्र काम पुरा नभएपछि म्याद थपिएको थियो । थपिएको म्यादभित्र काम पुरा गरेको ठेकेदार कम्पनीका प्रतिनिधि टेकबहादुर श्रेष्ठले बताए । आफ्ना स्वर्गीय पति डान्ड्रा राजवंशीको संझनामा दुर्गावती राजवंशीले वडा कार्यालयका लागि ४ कठ्ठा जग्गा निशुल्क दिएकी थिइन् । सोमवार वडाध्यक्ष शम्भुसिंह राजवंशी , वडा सदस्यहरु सैरुल मिया , सुकोल मुर्मू , उल्फो हरिजन माझी र कार्यपालिका सदस्य लिलोवती राजवंशीले पुजापाठ गरी नयाँ वडा कार्यालय भवनमा सरेका हुन् ।

यसअघि सो वडा कार्यालय प्रतिमहिना साढे ७ हजार तिरेर भाडाको घरमा रहेको थियो । आफ्नै भवन भएपछि कार्य सम्पादन गर्न सजिलो हुनुका साथै सेवाग्राहीहरुको लागि सहज भएको वडाध्यक्ष राजवंशीले बताए । बाह्रदशी गाउँपालिकामा वडा नं ३ , ६ र ४ बाहेक सबै वडाले आफ्नो भवन निर्माण गरिसकेका छन् । वडा नं ३ को भवन निर्माणाधिन अवस्थामा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्